Logo

समाचार

बाढी–पहिरोका कारण देशभरका मुख्य राजमार्ग अवरुद्ध, राति सवारी सञ्चालनमा रोक



काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीले आइतबार साँझ ५ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै सडकको अवस्था प्रतिकूल रहेकाले यात्रुहरूलाई सावधानी अपनाउन र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

प्रहरीका अनुसार कान्तिलोकपथअन्तर्गत बागमती गाउँपालिका–३ भट्टेडाँडा पाण्डुरमा आइतबार दिउँसो २ः४० बजे पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ राजदुवालीमा पनि अविरल वर्षाका कारण झापादेखि ताप्लेजुङ जाने सडक अवरुद्ध भएको छ । उक्त स्थानमा वैकल्पिक मार्गको व्यवस्था गरिएको प्रहरीले जनाएको छ ।

सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा अपराह्न ४ बजेदेखि बिहान ४ बजेसम्म अर्को सूचना जारी नभएसम्म सबै प्रकारका सवारी सञ्चालनमा रोक लगाइएको छ । बिहान ४ बजेदेखि साँझ ४ बजेसम्म भने सडकको अवस्था हेरेर सवारी सञ्चालन गर्न दिइने जनाइएको छ ।

त्यस्तै, कान्तिलोकपथको हेटौंडा–ठिंगन–बागमती–ललितपुर खण्डमा सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ ।

त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक खण्डअन्तर्गत उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

उक्त अवरोध लामो समयसम्म रहन सक्ने प्रहरीले जनाएको छ । अन्य मुख्य राजमार्गका विभिन्न क्षेत्रमा समेत बाढीका कारण सडक अवरुद्ध भएको विवरण प्रहरीले सार्वजनिक गरेको छ ।

टोखा–छहरे सडक खण्डअन्तर्गत शिवपुरी गाउँपालिका क्षेत्रमा पर्ने घट्टेखोलामा सम्भावित बाढी र पहिरोको जोखिमका कारण राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ । पासाङल्हामु सडक खण्ड पनि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।

अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–२ कोदारीमा आइतबार बिहान ७ बजे पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा बिहान ८ बजे तथा गजुरी गाउँपालिका–२ परेवाभीरमा दिउँसो १२ बजे पहिरो खसेको प्रहरीले जनाएको छ । दुवै स्थानमा सडक अवरुद्ध भएको छ ।

त्यस्तै, बेनी–जोमसोम सडक खण्डअन्तर्गत रघुगंगा गाउँपालिका–२ बैँसरीमा बिहान ५ः५५ बजे पहिरो खसेपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।

मुगु–नाग्म हुँदै गमगढी जाने सडक खण्डअन्तर्गत छायानाथ रारा नगरपालिका–७ झ्यारीखोला र टोक्लास्थित सडकमा दिउँसो २ः३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

नेपाल प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जनाएको छ । तर, मौसम प्रतिकूल रहेकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न प्रहरीले आग्रह गरेको छ ।

यात्रा गर्नैपर्ने अवस्था भएमा नजिकको प्रहरी कार्यालय वा प्रहरी कन्ट्रोल रुममा सम्पर्क गरी सम्बन्धित सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

 

प्रकाशित मिति : १४ भाद्र २०८३, आईतवार १९:१८   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।