काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित क्षेत्रबाट हालसम्म ९ हजार ४३५ जनाको उद्धार गरिएको सरकारले जनाएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार सम्बोधन गर्दै उद्धार, राहत तथा पुनःस्थापनाका लागि राज्यका सबै संयन्त्र परिचालन गरिएको बताए।
उनका अनुसार उद्धार तथा राहतका लागि हालसम्म ३९४ उडान भएका छन्। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका २० हजार ६१८ सुरक्षाकर्मी परिचालन भएका छन्।
बाढी प्रभावित जलविद्युत् आयोजना क्षेत्रबाट नेपाली सेनाको हेलिकप्टरमार्फत २७९ जनाको उद्धार गरिएको छ। माथिल्लो त्रिशूली–१ आसपासबाट दुई दिनमा २५० जनाको उद्धार भएको छ। त्यहाँ चिनियाँ र कोरियन विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी सुरुङभित्र खोजी गरिरहेका छन्।
नुवाकोटको माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा समेत उद्धार प्रयास जारी छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका करिब ९० जनाको संयुक्त टोली परिचालन गरिएको छ। ब्लास्टिङ र उपकरण प्रयोग गरी सुरुङभित्र पुग्ने प्रयास भइरहेको छ।
बाढीमा घाइते भएका २६७ जनालाई उद्धार गरी उपचार भइरहेको छ। त्यसमध्ये १५६ जना डिस्चार्ज भइसकेका छन्।
प्रधानमन्त्री राहत कोषमा आइतबार मध्यान्हसम्म नौवटा वाणिज्य बैंकका खातामा ५ अर्ब २४ करोड ७९ लाख ४४ हजार ५८५ रुपैयाँ जम्मा भएको छ। हिमालयन र लक्ष्मी बैंकमा थप २१ लाख २३२ अमेरिकी डलर जम्मा भएको सरकारले जनाएको छ।
रसुवा र नुवाकोटमा २६ वटा आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा छन्। आइतबार मात्रै ३ हजार ४५४ जनाले त्यहाँबाट आश्रय तथा राहत पाएका छन्।
बाढी प्रभावितका लागि भारत, चीन, अमेरिका, अस्ट्रेलिया, स्विट्जरल्यान्डलगायतबाट आर्थिक तथा मानवीय सहयोग प्राप्त भइरहेको छ। भारतले ६८.५ टन मानवीय सहायता र २३० फिटको मोडुलर स्टिल ब्रिज पठाएको छ।
सञ्चार सेवातर्फ नेपाल टेलिकमका १०६ र एनसेलका ७५ वटा बिटिएस सञ्चालनमा आइसकेका छन्। बाँकी अवरुद्ध टावर पनि सञ्चालनमा ल्याउने प्रयास भइरहेको सरकारले जनाएको छ।
बाढीमा ज्यान गुमाएका ७८१ जनाको शव फेला परेको छ। पहिचान भएका शव आफन्तलाई बुझाउने र पहिचान हुन नसकेका शव कानुनी प्रक्रियाअनुसार व्यवस्थापन भइरहेको छ।
प्रधानमन्त्री शाहले प्रभावित प्रत्येक नागरिकसम्म राहत पुर्याउने तथा पुनर्निर्माण र पुनःस्थापनाको काम पूर्ण नतिजा नआएसम्म जारी राख्ने प्रतिबद्धता जनाएका छन्।
















प्रतिक्रिया