Logo

समाचार

यस्तो छ देशभरका मुख्य राजमार्गको ताजा अवस्था



काठमाडौँ।  अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशभरका विभिन्न प्रमुख राजमार्ग तथा सडक खण्ड अवरुद्ध भएका छन्।

नेपाल प्रहरीले सोमबार बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लामा सडक अवरुद्ध हुनुका साथै केही स्थानमा निश्चित समयका लागि सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ।

कोशी प्रदेशको इलाम नगरपालिका–९ राजदुवालीमा मेची राजमार्गअन्तर्गत झापादेखि ताप्लेजुङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त स्थानमा वैकल्पिक मार्गबाट आवागमन गर्न सकिने प्रहरीले जनाएको छ।

बागमती प्रदेशमा पनि बाढी र पहिरोका कारण विभिन्न सडक प्रभावित भएका छन्। काभ्रेमा बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी सडक खण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी सञ्चालनमा रोक लगाइएको छ। दिउँसो भने सडकको अवस्था हेरेर यातायात सञ्चालन गरिने प्रहरीले जनाएको छ।

मकवानपुरमा कान्तिलोकपथको हेटौँडा–ठिङ्गन–बागमती–ललितपुर सडक खण्डमा सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक खण्ड बाढीका कारण लामो समयका लागि पूर्ण रूपमा अवरुद्ध भएको छ।

नुवाकोटको टोखा–छहरे सडक खण्डअन्तर्गत शिवपुरी गाउँपालिका–८ घट्टेखोलामा सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। जिल्लाका अन्य मुख्य राजमार्ग तथा पासाङल्हामु सडक खण्डसमेत बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेका छन्।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीमा पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। धादिङको पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीर र गजुरी गाउँपालिका–२ परेवा भीरमा पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

कर्णाली प्रदेशको मुगुमा छायानाथ रारा नगरपालिका–७ झ्यारीखोला र टोक्ला क्षेत्रमा पहिरो गएपछि नाग्म–मुगु गमगढी सडक खण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।

प्रहरीका अनुसार अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायबाट आवश्यक प्रयास भइरहेको छ। वर्षाका कारण थप जोखिम हुन सक्ने भएकाले यात्रु तथा सवारी चालकलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र विशेष सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।

 

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार ०७:२१   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।