सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६, घण्टाघर लाइनस्थित खड्का होटेल असहाय तथा विपन्न नागरिकका लागि संकलन गरेको ७ लाख १८ हजार ६१८ रुपैयाँ बाढी प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको छ ।
स्वर्गीय शिवराज खड्काको योजनाअनुसार करिब तीन वर्षअघि होटेल परिसरमा राखिएको चन्दा बाकसमा उक्त रकम संकलन भएको हो ।
चन्दा बाकस प्रहरी, प्रशासन, सुर्खेत उद्योग वाणिज्य संघका प्रतिनिधि, पत्रकार, स्थानीय व्यक्तित्व तथा खड्का परिवारका सदस्यको रोहवरमा खोली रकम गणना गरिएको थियो ।
संकलित रकममा खड्का होटेल परिवारले थप १ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने भएको छ । होटेल परिवारले थप गरेको रकमसहित कुल ८ लाख ६९ हजार ६१८ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको हो ।
स्वर्गीय शिवराजको योजनालाई निरन्तरता
सामाजिक सेवाका लागि स्वर्गीय शिवराज खड्काको योजनाअनुसार राखिएको चन्दा बाकसमा सर्वसाधारणले स्वेच्छाले रकम सहयोग गर्दै आएका थिए । तीन वर्षपछि बाकस खोलेर गणना गर्दा ठुलो रकम संकलन भएको पाइएको हो ।
१० भदौमा धादिङ, नुवाकोट, रसुवा, गोरखा, चितवनलगायत जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम कोषमा जम्मा गर्ने निर्णय गरिएको खड्का होटेल परिवारले जनाएको छ ।
विपद्मा परेका नागरिकलाई सहयोग गर्न सर्वसाधारणले गरेको योगदानमा होटेल परिवारले समेत रकम थप गरी सहयोग गर्न लागेको हो । यसले विपद्का समयमा मानवीय सहयोग र सामाजिक उत्तरदायित्वको सन्देश दिने अपेक्षा गरिएको छ ।
















प्रतिक्रिया