Logo

अर्थ

रिलायबल नेपाल लाइफ मन्थली शाखाद्वारा ४० थान डस्टबिन वितरण



काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको नवौँ स्थापना दिवसको अवसर पारेर मन्थली शाखाले रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा बजार सरसफाइ गरी डस्टबिन वितरण गरेको छ ।

रामेछाप उद्योग वाणिज्य संघसँगको समन्वय तथा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड मन्थली शाखाको सहकार्यमा सोमबार ‘स्वच्छ मन्थली, सुन्दर मन्थली’ अभियान अन्तर्गत उक्त सरसफाई कार्यक्रम सञ्चालन गरिएको हो ।

अभियानअन्तर्गत मन्थली बजारका विभिन्न क्षेत्रमा सरसफार्इ गर्नुका साथै फोहोर व्यवस्थापनलाई व्यवस्थित बनाउन ४० थान डस्टबिन वितरण गरिएको थियो । कार्यक्रममा मन्थली नगरपालिकाका मेयर लव श्रेष्ठ, वडा नं. १ का अध्यक्ष होमप्रसाद पौडेल, रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाशकुमार श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा व्यवसायीहरूले स्वच्छ, सुन्दर र व्यवस्थित मन्थली निर्माणका लागि स्थानीय सरकार, व्यवसायी, स्थानीयवासी तथा विभिन्न संघसंस्थाबीच सहकार्य आवश्यक रहेको बताएका थिए ।

बजार क्षेत्रमा बजार विस्तारले गर्दा फोहोर हुने क्रम बढ्दै गएकाले फोहोरलाई जथाभावी फाल्ने प्रवृत्तिको अन्त्य गर्दै उचित व्यवस्थापनमा ध्यान दिनुपर्ने उनीहरूको भनाइ थियो ।

इन्स्योरेन्सका मन्थली शाखा प्रमुख शान्ता श्रेष्ठले बीमा कम्पनीको भूमिका बीमा बिक्री र आर्थिक सुरक्षामा मात्रै सीमित नरहेको भन्दै कम्पनीले समुदायप्रति सामाजिक उत्तरदायित्वसमेत निर्वाह गर्नुपर्ने भएकाले स्थापना दिवसलाई सामाजिक सेवासँग जोडेर सरसफाइ अभियान सञ्चालन गरिएको बताइन् ।

‘फोहोर जथाभावी नफालौँ, डस्टबिनमै राखौँ’ भन्ने सन्देशसहित सञ्चालन गरिएको अभियानले बजार क्षेत्रको फोहोर व्यवस्थापनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

आयोजकले घर तथा व्यवसायस्थल सफा राख्नुका साथै सडक, बजार र सार्वजनिक स्थानको सरसफाइमा पनि सबैले समान जिम्मेवारी लिनुपर्नेमा जोड दिएको छ । नियमित सरसफाइसँगै फोहोरको उचित व्यवस्थापन गर्न सके मात्र मन्थलीलाई स्वच्छ, सुन्दर र व्यवस्थित शहरका रूपमा विकास गर्न सकिने बताइएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार १५:२९   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।