Logo

अर्थ

बाढीले ९०१ मेगावाटका जलविद्युत् आयोजना प्रभावित, सूचीकृत कम्पनीमा पनि ठूलो क्षति



काठमाडौं । भदौ १० गते भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीका कारण ऊर्जा क्षेत्रमा ठूलो क्षति पुगेको छ। ऊर्जा मन्त्रालयका अनुसार बाढीबाट कुल ९०१ मेगावाट क्षमताका जलविद्युत् आयोजना प्रभावित भएका छन्। प्रभावित आयोजनामध्ये सञ्चालनमा रहेका १२ वटा आयोजनाको क्षमता ४३१.१ मेगावाट छ।

बाढीको सबैभन्दा ठूलो असर रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा परेको छ। यसबाट नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत तथा सञ्चालनमा रहेका जलविद्युत् कम्पनीसमेत प्रत्यक्ष प्रभावित भएका छन्।

नेप्सेमा सूचीकृत कम्पनीमध्ये रसुवागढी हाइड्रोपावरको १११ मेगावाट आयोजना बाढीबाट सबैभन्दा बढी प्रभावित भएको छ। गत वर्षको बाढीपछि बल्ल पूर्ण क्षमतामा सञ्चालनमा आएको आयोजना पुनः ठूलो क्षतिको चपेटामा परेको हो। रसुवागढी हाइड्रोपावर चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी हो।

त्यस्तै, चिलिमे जलविद्युत् कम्पनीको २२.१ मेगावाट क्षमताको चिलिमे आयोजना पनि प्रभावित भएको छ। आयोजनाको पावरहाउस तथा आवास क्षेत्रमा क्षति पुगेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार बाढीका कारण बन्द भएका सात आयोजनामध्ये चिलिमे पनि एक हो।

साञ्जेन जलविद्युत् कम्पनीका तीनवटै आयोजना पनि प्रभावित भएका छन्। कम्पनीअन्तर्गतका ७८ मेगावाटको साञ्जेन, ४२.५ मेगावाटको साञ्जेन तथा १४.८ मेगावाटको माथिल्लो साञ्जेन आयोजना क्षतिग्रस्त आयोजनाको सूचीमा छन्।

त्यस्तै, मैलुङ खोला जलविद्युत् कम्पनीका १४.८ मेगावाट र ५ मेगावाट क्षमताका आयोजना पनि बाढीका कारण बन्द भएका छन्। लाङटाङ खोलाको २० मेगावाट आयोजना पनि रसुवामा क्षति पुगेका आयोजनाको सूचीमा छ।

निर्माणाधीन आयोजनामा पनि असर

बाढीले निर्माणाधीन आयोजनालाई समेत गम्भीर असर पारेको छ। नेप्सेमा सूचीकृत त्रिशूली जलविद्युत् कम्पनीले निर्माण गरिरहेको ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजना पनि क्षतिग्रस्त भएको छ। निर्माणाधीन १५ आयोजनामध्ये यस आयोजनामा पनि क्षति पुगेको हो।

नेपाल विद्युत् प्राधिकरणका अनुसार आयोजनास्थलमा कार्यरत २१ जना सम्पर्कविहीन छन्। यसले उद्धार तथा पुनःस्थापनाको काम थप जटिल बनेको छ।

त्यस्तै, २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ आयोजना पनि बाढीबाट ठूलो क्षति भएको आयोजनामा पर्छ। निर्माणाधीन यो आयोजनामा नेप्सेमा सूचीकृत विभिन्न कम्पनीको लगानी रहेको छ।

प्राधिकरणका आयोजनामा पनि क्षति

बाढीका कारण नेपाल विद्युत् प्राधिकरणका आयोजनामा पनि उल्लेख्य क्षति पुगेको छ। माथिल्लो त्रिशूली–३ ‘ए’ को ६० मेगावाट, त्रिशूली जलविद्युत् केन्द्रको करिब २१–२४ मेगावाट तथा देवीघाटको १४ मेगावाट क्षमताका आयोजनासमेत प्रभावित भएका छन्।

त्यसैगरी २५ मेगावाटको सोलार प्लान्ट र २२० केभी सबस्टेसनमा समेत क्षति पुगेको छ। यी आयोजना नेप्सेमा सूचीकृत नभए पनि विद्युत् प्रणालीमा प्रत्यक्ष प्रभाव पार्ने पूर्वाधार हुन्।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ताका अनुसार रसुवागढीको १११ मेगावाट आयोजना बाहेक अन्य धेरै आयोजना आवश्यक मर्मतपछि करिब एक महिनाभित्र सञ्चालनमा ल्याउन सकिने अनुमान छ। तर यसपटकको क्षति गत वर्षको बाढीभन्दा निकै ठूलो रहेकाले पुनःस्थापनामा चुनौती देखिएको छ।

विशेषगरी आयोजनाका सुरुङ तथा निर्माण क्षेत्रमा कामदार फसेको अवस्थाले उद्धार र पुनर्निर्माणको काम प्रभावित भएको छ। क्षतिको पूर्ण विवरण संकलन तथा आयोजनाको संरचनागत अवस्था मूल्यांकनपछि मात्रै पुनर्निर्माणमा लाग्ने समय र लागत यकिन हुने अधिकारीहरू बताउँछन्।

एक वर्षअघि मात्रै बाढीको क्षतिबाट उठेर सञ्चालनमा आएका आयोजनाहरू पुनः प्राकृतिक विपत्तिको चपेटामा परेपछि जलविद्युत् आयोजनाको पूर्वाधार सुरक्षामाथि समेत प्रश्न उठेको छ। सञ्चालनमा रहेका आयोजनाको उत्पादन रोकिँदा विद्युत् आपूर्तिमा असर पर्नुका साथै आयोजनाको आम्दानी र प्रवर्द्धक कम्पनीको वित्तीय अवस्थामा समेत दबाब पर्ने देखिएको छ।

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार १६:०१   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।