Logo

विविध

बाढी प्रभावित क्षेत्रमा विद्युत् सेवा सुचारु गर्न ऊर्जा मन्त्रालय सक्रिय



काठमाडौं । भोटेकोशी बाढीबाट क्षतिग्रस्त विद्युत् संरचना पुनःस्थापना गरी प्रभावित क्षेत्रमा विद्युत् सेवा सुचारु गर्न ऊर्जा मन्त्रालयले काम तीव्र बनाएको छ।

मन्त्रालयका अनुसार रसुवा र नुवाकोटमा प्राविधिक टोली परिचालन गरी क्षतिग्रस्त संरचनाको मर्मत तथा विद्युत् आपूर्ति पुनःस्थापनाको काम भइरहेको छ। प्रभावित क्षेत्रमा यथाशीघ्र विद्युत् सेवा सञ्चालन गर्ने गरी प्राविधिक तयारी अघि बढाइएको मन्त्रालयले जनाएको छ।

यसैबीच, साञ्जेन जलविद्युत् आयोजनालाई आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी गरिएको छ। यसबाट प्रभावित क्षेत्रमा सीमित रूपमा भए पनि विद्युत् आपूर्ति गर्न सकिने अपेक्षा गरिएको छ।

तत्काल राष्ट्रिय प्रसारण प्रणालीमार्फत विद्युत् पुर्‍याउन सम्भव नहुने दुर्गम क्षेत्रमा भने सौर्य ऊर्जालगायत वैकल्पिक ऊर्जा स्रोत प्रयोग गर्ने तयारी गरिएको मन्त्रालयले जनाएको छ।

यस्तै, त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धार कार्य पनि जारी रहेको मन्त्रालयले जनाएको छ। उद्धार तथा विद्युत् संरचना पुनःस्थापनाका कामलाई समन्वय गर्दै अघि बढाइएको बताइएको छ।

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार २१:३४   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।