Logo

अर्थ

कन्टिनेन्टल ट्रेडिङद्वारा बाढीपीडितका लागि २५ लाख सहयोग



काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले २५ लाख रुपैयाँ सहयोग गरेको छ।

कम्पनीका अध्यक्ष सुदीप घिमिरे, कार्यकारी उपाध्यक्ष रेखा घिमिरे तथा निर्देशक अदिती घिमिरेसहितको टोलीले अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री स्वर्णिम वाग्लेलाई २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो।

भोटेकोसीमा आएको भीषण बाढी तथा पहिरोका कारण रसुवासहित नुवाकोट, धादिङलगायत आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढीपहिरोले घर, सम्पत्ति तथा भौतिक पूर्वाधारमा क्षति पुर्‍याएपछि प्रभावित परिवारलाई तत्काल राहत, उद्धार तथा पुनःस्थापनाको आवश्यकता देखिएको छ।

विपद्को कठिन अवस्थामा प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।

चेक हस्तान्तरणका क्रममा कम्पनीका प्रतिनिधिले बाढीपहिरोमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका थिए। साथै विपद्मा परी घाइते भएका नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो।

कम्पनीले प्राकृतिक विपद्का बेला पीडित परिवारको दुःखमा साथ दिनु निजी क्षेत्रको सामाजिक उत्तरदायित्वसमेत भएको जनाएको छ।

‘विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु हाम्रो मानवीय तथा सामाजिक दायित्व हो। राज्य र समाजलाई आवश्यक परेको समयमा निजी क्षेत्रले आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग गर्नुपर्छ भन्ने हाम्रो विश्वास छ,’ कम्पनीका प्रतिनिधिले भने।

कम्पनीले आफ्नो सहयोगले विपद्बाट प्रभावित परिवारको राहत तथा उद्धारमा केही भए पनि योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। आगामी दिनमा पनि आवश्यकता र आफ्नो क्षमता तथा सामर्थ्यअनुसार मानवीय सहायता तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता कम्पनीले जनाएको छ।

‘विपद्मा एकजुट बनौं, पीडितको साथ दिऔं।’

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलवार १२:१०   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।