Logo

प्रमुख समाचार

बाढीपीडितको पुनर्स्थापना र व्यवस्थापनका लागि कार्यदल गठन



काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई सामान्य अवस्थामा फर्काउन २१ दिनभित्र प्रारम्भिक पुनर्स्थापना तथा आवश्यक व्यवस्थापनका काम अघि बढाउने गरी कार्यदल गठन गरेको छ ।

बाढीका कारण क्षतिग्रस्त सडक, पुल, झोलुङ्गे पुल, खानेपानी तथा सञ्चार संरचनाको अवस्था पहिचान गरी पुनः सञ्चालनका लागि आवश्यक पहल कार्यदलले गर्नेछ । त्यसैगरी, प्रभावित परिवारको पुनर्वास, भग्नावशेष हटाउने काम, स्वास्थ्य सेवा तथा अन्य अत्यावश्यक पूर्वाधारको व्यवस्थापनमा पनि कार्यदलले समन्वय गर्नेछ ।

मन्त्रालयका अनुसार बाढीबाट भएको भौतिक क्षति र आगामी जोखिमको प्राविधिक तथा वस्तुगत अध्ययन गरी प्राथमिकता निर्धारण गर्ने जिम्मेवारीसमेत कार्यदललाई दिइएको छ । तत्काल आवश्यक पर्ने उद्धार तथा पुनर्स्थापनासम्बन्धी काम र अत्यावश्यक सेवाको पहिचान गरेर सम्बन्धित निकायलाई परिचालन गरिनेछ ।

प्रभावित बस्ती, संरचना र परिवारलाई जोखिमको स्तर तथा आवश्यकताको आधारमा वर्गीकरण गरी तत्कालीन, अल्पकालीन र दीर्घकालीन पुनर्स्थापनाका योजना तयार गर्ने कार्यदलको जिम्मेवारी हुनेछ ।

त्यसका लागि आवश्यक जनशक्ति, मेसिनरी, निर्माण सामग्री र आर्थिक स्रोतको समेत आकलन गरिनेछ । संघ, प्रदेश र स्थानीय सरकारसँगै सुरक्षा निकाय, निजी क्षेत्र तथा विकास साझेदार संस्थाबीच सहकार्य र समन्वय कायम गर्ने काम पनि कार्यदलले गर्नेछ ।

पुनर्निर्माणका क्रममा भविष्यमा बाढी, पहिरो, जलवायु परिवर्तन तथा भूगर्भीय जोखिमबाट हुने क्षति कम गर्ने उपायलाई प्राथमिकता दिइनेछ । यसका लागि ‘बिल्ड ब्याक बेटर’ अवधारणाअनुसार पुनर्निर्माण अघि बढाउने योजना छ ।

मन्त्रालयका अनुसार सबै सम्बन्धित निकायबीच प्रभावकारी समन्वय कायम गरी प्रभावित क्षेत्रको पुनर्स्थापना, क्षतिग्रस्त अत्यावश्यक पूर्वाधारको पुनः सञ्चालन र प्रभावित नागरिकलाई यथाशीघ्र सामान्य जनजीवनमा फर्काउने कामलाई प्राथमिकताका साथ अघि बढाइने जनाइएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलवार १४:०९   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।