काठमाडौं । चौधरी फाउन्डेसनले बाढीबाट प्रभावित नुवाकोटको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय तत्काल सञ्चालनमा ल्याउन सहयोग गर्ने भएको छ ।
भदौ १० गते आएको बाढीले विद्यालय भवन ध्वस्त भएपछि प्रभावित विद्यार्थीलाई वैकल्पिक भवनमार्फत पठनपाठनमा फर्काउन फाउन्डेसनले आपत्कालीन सहयोग गर्न लागेको हो । विद्यालयमा करिब १ हजार ६ सय विद्यार्थी अध्ययनरत थिए ।
फाउन्डेसनले विद्यालयमा डिजिटल कक्षाको अवधारणाअनुसार पठनपाठन सञ्चालन गर्न आवश्यक स्मार्ट बोर्ड, डेस्कटप, ल्यापटप, प्रोजेक्टर र इन्टरनेटको व्यवस्था गर्ने जनाएको छ । त्यस्तै, कक्षाकोठाका लागि आवश्यक फर्निचर काठमाडौंमा तयारी अवस्थामा रहेका सामग्रीबाट विद्यालयमा पुर्याइनेछ ।
विद्यार्थीलाई आवश्यक पर्ने स्कुल ब्याग तथा स्टेसनरी सामग्रीसमेत उपलब्ध गराउने फाउन्डेसनले जनाएको छ ।
विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीका अनुसार तत्काल पठनपाठन सञ्चालन गर्न वैकल्पिक भवनको व्यवस्था गर्ने प्रक्रिया अघि बढाइएको छ । भवन व्यवस्थापन भएपछि फाउन्डेसनले आवश्यक भौतिक तथा शैक्षिक सामग्री उपलब्ध गराउनेछ ।
विद्यालय सञ्चालनका विषयमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी र प्रधानाध्यापक दवाडीबीच भदौ १५ गते छलफल भएको थियो । सोही छलफलअनुसार फाउन्डेसनले विद्यालय सञ्चालनका लागि आवश्यक सहयोग गर्ने निर्णय गरेको हो ।
चौधरी फाउन्डेसनका अध्यक्ष निर्वाण चौधरीले बाढी प्रभावित क्षेत्रका बालबालिकालाई मनोवैज्ञानिक असरबाट जोगाउँदै उनीहरूको पढाइलाई निरन्तरता दिन विद्यालय जतिसक्दो छिटो सञ्चालन गर्ने उद्देश्य रहेको बताए ।
प्रधानाध्यापक दवाडीले फाउन्डेसनको सहयोगले विद्यार्थीको अध्ययनलाई निरन्तरता दिन महत्वपूर्ण योगदान पुग्ने बताए । उनले वैकल्पिक भवनको व्यवस्थापनको काम अघि बढिसकेको र भवन तयार भएपछि फाउन्डेसनबाट भौतिक तथा शैक्षिक सामग्री प्राप्त हुने जानकारी दिए ।
















प्रतिक्रिया