काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर दीर्घबहादुर रावलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार उनले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।
रावलले सार्वजनिक गरेको विवरण अनुसार आफ्नो र परिवारका सदस्यको नाममा विभिन्न स्थानमा घरजग्गा, नगद, बहुमूल्य गहना तथा शेयर लगानी रहेको देखिन्छ ।
रावलकी श्रीमतीको नाममा मध्यपुर थिमी नगरपालिका–२ स्थित दिव्यश्वरी प्लानिङमा १९१ वर्गमिटर क्षेत्रफलमा बनेको घर छ । विवरणअनुसार उक्त घर २०७७ फागुनमा १ करोड ८० लाख रुपैयाँमा खरिद गरिएको हो ।
घर खरिद गर्दा बैंकबाट लिएको ऋणसँगै स्वआर्जन र यसअघि रहेको घरजग्गा बिक्रीबाट आएको रकम प्रयोग गरिएको रावलले उल्लेख गरेका छन् ।
रावलकी आमाको नाममा कैलालीको टीकापुरमा १ कठ्ठा तथा अछामको बान्नीगढी जयगढमा १ रोपनी जग्गामा बनेका घर छन् । यी दुवैलाई पैतृक सम्पत्तिका रूपमा देखाइएको छ ।
त्यसैगरी आमाको नाममा टीकापुरमा २ बिघा १ कठ्ठा र बान्नीगढी जयगढमा करिब ४५ रोपनी जग्गा रहेको छ । धनगढीमा परिवारका सदस्यहरूको नाममा ३३८.६३ वर्गमिटर क्षेत्रफलका दुई कित्ता जग्गा रहेको विवरणमा उल्लेख छ ।
रावलको व्यक्तिगत नाममा कैलालीमा १ कठ्ठा जग्गा रहेको छ भने श्रीमतीको नाममा करिब ६ लाख रुपैयाँ लागतमा खरिद गरिएको जग्गा रहेको छ ।
रावलका विभिन्न वाणिज्य बैंकका खातामा गरी ११ लाख ४९ हजार २१४ रुपैयाँ मौज्दात रहेको देखिन्छ । यसबाहेक उनका खातामा १४ हजार अमेरिकी डलर पनि रहेको छ । उनका अनुसार नेपाली रुपैयाँ र अमेरिकी डलरको बचत पारिश्रमिक, वैदेशिक तालिम तथा भ्रमणबाट प्राप्त रकमबाट जम्मा भएको हो ।
श्रीमतीको नाममा बैंक तथा वित्तीय संस्थामा ३ लाख ८४ हजार ९२७ रुपैयाँ रहेको छ । उक्त रकम घरभाडाबाट प्राप्त भएको विवरणमा उल्लेख गरिएको छ । रावलको साथमा ४० हजार रुपैयाँ नगद रहेको पनि सम्पत्ति विवरणमा जनाइएको छ ।
रावलको परिवारसँग २५ तोला सुन तथा २ किलो चाँदी रहेको छ । विवरणमा यीमध्ये केही सम्पत्ति पैतृक र केही स्वआर्जनबाट प्राप्त भएको उल्लेख गरिएको छ । परिवारसँग करिब १ लाख रुपैयाँ मूल्य पर्ने हिराको औंठी पनि रहेको छ ।
रावलको व्यक्तिगत नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाका ७७० कित्ता साधारण सेयर छन् । श्रीमतीको नाममा भने बैंक तथा वित्तीय संस्थाका २७ हजार ५६७ कित्ता सेयर रहेको छ । त्यस्तै, बीमा कम्पनीका १३० कित्ता, जलविद्युत् कम्पनीका २ हजार ३७९ कित्ता र डिस्टिलरी कम्पनीका १ हजार कित्ता सेयर पनि रहेको विवरणमा उल्लेख छ ।
रावलका छोराछोरीको नाममा समेत बैंक तथा वित्तीय संस्था र जलविद्युत् कम्पनीका साधारण सेयर रहेको जनाइएको छ ।
सम्पत्ति विवरणमा रावलले नेपाल राष्ट्र बैंक कर्मचारी विनियमावलीअनुसार आफूले ५० लाख रुपैयाँसम्म कर्जा तथा सापटी सुविधा लिन सक्ने व्यवस्था रहेको समेत उल्लेख गरेका छन् । त्यसैगरी रावल तथा परिवारका सदस्यको नाममा एलआईसी नेपाल र राष्ट्रिय बीमा संस्थानमा बीमा रहेको छ। अवकाश कोषमा रहेको रकमसम्बन्धी विवरण पनि सम्पत्ति विवरणमा समेटिएको छ ।
रावल परिवारको अचल सम्पत्तिमा पैतृक सम्पत्तिको हिस्सा उल्लेख्य देखिन्छ । पछिल्लो समयमा खरिद गरिएको भक्तपुरको घरका लागि भने बैंक ऋण, स्वआर्जन तथा पुरानो सम्पत्ति बिक्रीबाट प्राप्त रकम प्रयोग गरिएको स्रोत खुलाइएको छ ।
















प्रतिक्रिया