Logo

अर्थ

बैंकिङ प्रणालीमा निक्षेप खाता ६ करोड ३४ लाख नाघ्यो



काठमाडौं । नेपालमा बैंक तथा वित्तीय संस्थामा खोलिएका निक्षेप खाताको संख्या ६ करोड ३४ लाख नाघेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा बैंकिङ प्रणालीमा कुल निक्षेप खाता संख्या ६ करोड ३४ लाख २५ हजार २ सय ९६ पुगेको हो।

यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ४९ लाख ९६ हजार ९ सय २९ ले बढी हो। एक वर्षमा निक्षेप खाताको संख्या ८ दशमलव ५५ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ। आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म बैंक तथा वित्तीय संस्थामा ५ करोड ९४ लाख २९ हजार ३ सय ६७ निक्षेप खाता थिए।

कुल निक्षेप खातामध्ये सबैभन्दा ठूलो हिस्सा वाणिज्य बैंकको छ। समीक्षा अवधिमा वाणिज्य बैंकहरूमा मात्रै ५ करोड ४४ लाख ४९ हजार ५ सय ३९ निक्षेप खाता सञ्चालनमा छन्। विकास बैंकहरूमा ७८ लाख ८३ हजार ६ सय ७२ र वित्त कम्पनीहरूमा १० लाख ९२ हजार ८५ वटा निक्षेप खाता छन्।

अघिल्लो आर्थिक वर्षको अन्त्यमा वाणिज्य बैंकहरूमा ५ करोड ९ लाख ८६ हजार १ सय ७१ निक्षेप खाता थिए। त्यस्तै, विकास बैंकहरूमा ७४ लाख ५३ हजार ३ सय ४७ र वित्त कम्पनीहरूमा ९ लाख ६७ हजार ८ सय ४९ वटा खाता सञ्चालनमा थिए।

निक्षेप खातासँगै बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिने खाताको संख्या पनि बढेको छ। राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कुल कर्जा खाताको संख्या २० लाख ३१ हजार ६ सय ३४ पुगेको छ।

अघिल्लो आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थामा १९ लाख ५५ हजार ५ सय ५८ कर्जा खाता थिए। एक वर्षको अवधिमा कर्जा खाताको संख्या ७६ हजार ७६ ले बढेको हो।

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार ०७:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।