Logo

समाचार

सेनाका ४५ र सशस्त्रका १२ जना अझै बेपत्ता, उद्धार र खोज निरन्तर



काठमाडौं । भोटेकोशी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेपनि नेपाली सेनाका ४५ जना अझै बेपत्ता रहेको नेपाली सेनाले जनाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको भोटेकोशी बाढी तथा खोज तथा उद्धार कार्यसम्बन्धी पत्रकार सम्मेलनमा नेपाली सेनाका राजाराम बस्नेतले बाढीपछि बेपत्ता भएकाहरुको खोजी कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिए ।

उनका अनुसार नेपाली सेनाले हवाई, जमिन र टनेल गरी तीनवटा क्षेत्रमा खोज तथा उद्धार कार्य सञ्चालन गरिरहेको छ।

‘नेपाली सेनाले सरकारको निर्देशनबमोजिम सम्बन्धित सबै डिजास्टरमा इन्भल्भ भएका निकायहरूसँग एकदमै नजिकबाट समन्वय र सहकार्य गरेर काम गरेको छ। विशेषगरी हवाई, जमिन र टनेल खोज तथा उद्धार गरी तीनवटा सेक्टरमा बाँडेर काम गरिरहेका छौँ,’ बस्नेतले भने ।

परराष्ट्र मन्त्रालयको समन्वयमा छिमेकी तथा मित्रराष्ट्रबाट प्राप्त सहयोगलाई समेत खोज तथा उद्धारमा प्रयोग गरिएको उनले बताए ।

‘परराष्ट्र मन्त्रालयबाट समन्वय भएर सेनाले जोइन्ट्ली कार्य गर्ने गरी छिमेकी तथा फ्रेन्डली फरेन कन्ट्रीजबाट जुन सहयोग प्राप्त भएको छ, यसको लागि आभारी छौँ।

उहाँहरूसँग नजिकबाट समन्वय र सहकार्य गरेर, काँधमा काँध मिलाएर टनेल इलाकामा खोज तथा उद्धार कार्यलाई अझ प्रभावकारी बनाउन प्रतिबद्ध छौँ,’उनले भने ।

बस्नेतले खोज तथा उद्धारका क्रममा हिलो, माटो, लेदो तथा ठूला ढुंगा र चट्टानका अवशेष चुनौतीका रूपमा देखिएको बताए ।

‘मुख्यगरी चुनौतीहरूमा हिलो, माटो, लेदो भरिएका स्थानहरू छन्। त्यससँगै आएका ठूला–ठूला ढुंगा र चट्टानका अवशेषहरू रहेका छन्। थ्री–एमा पनि करिब २० मिटर तल खनेपछि मात्रै पावरहाउसमा जाने इन्ट्री पोइन्ट फेला परेको थियो,’ उनले भने।

उनका अनुसार त्रिशुली थ्री–ए पावरहाउस करिब १७५ मिटरभित्र रहेको थियो । सीमित भूगोल, एयर ट्राफिक तथा हवाई उडानका लागि कठिन अवस्था र बदलिइरहने मौसमका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको उनको भनाइ छ ।

नेपाली सेनाले प्रभावित क्षेत्रमा दैनिक १५ देखि २२ वटासम्म हेलिकप्टर परिचालन गरी खोज तथा उद्धार कार्य अघि बढाइरहेको जनाएको छ ।

‘हामीले १५ वटादेखि २२ वटासम्म हेलिकप्टरहरू त्यस्तो स्थानमा—जुन सानो एउटा खोल्चो छ—त्यो खोल्चोबाट कुनै पनि त्रुटिरहित ढङ्गले खोज तथा उद्धार कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाइरहेका छौँ,’ बस्नेतले भने ।

बेपत्ता सैनिकको खोजीमा समेत सबै सरोकारवाला निकायसँग समन्वय भइरहेको उनले बताए ।

पत्रकार सम्मेलनमा सशस्त्र प्रहरी बल नेपालले पनि बाढी तथा विपद्पछि खोज तथा उद्धार र राहत वितरणका लागि ठूलो संख्यामा जनशक्ति परिचालन गरिएको जानकारी दिएको छ ।

सशस्त्र प्रहरीका प्रतिनिधिका अनुसार हालसम्म चार हजार २०३ जना सशस्त्र प्रहरी विपद् प्रभावित क्षेत्रमा परिचालन भएका छन् ।

त्यसमध्ये कोल्याप्स्ड स्ट्रक्चर सर्च एन्ड रेस्क्यु, मेडिकल, ड्रोन, रोप रेस्क्यु, स्विफ्ट वाटर रेस्क्यु, डेड बडी म्यानेजमेन्ट, डिजास्टर म्यानेजमेन्ट तथा हाइअल्ट रेस्क्यु लगायतका विशेष तालिमप्राप्त ७७४ जना रहेका छन् ।

‘यी टिमसँगै अन्य सशस्त्र प्रहरी बलका टिमहरू नेपाली सेनासँग र नेपाल प्रहरीसँग संयुक्त रूपमा र एकल रूपमा पनि खोज तथा उद्धार र राहत वितरण कार्यक्रममा परिचालन भएका छन्,’ सशस्त्र प्रहरीका रविन राजले भने ।

सशस्त्र प्रहरीले नुवाकोट, रसुवा र धादिङका विभिन्न १३ स्थानमा अस्थायी बेस स्थापना गरेर खोज तथा उद्धार तथा राहत वितरणको काम गरिरहेको जनाएको छ ।

यस्तै, सात स्थानमा हेल्थ क्याम्प स्थापना गरी स्वास्थ्य सेवा प्रदान भइरहेको छ। तीमध्ये रसुवामा दुई र नुवाकोटमा पाँचवटा हेल्थ क्याम्प छन् । हालसम्म स्वास्थ्य शिविरबाट २ हजार ९७० जना लाभान्वित भएको सशस्त्र प्रहरीले जनाएको छ ।

राहत वितरणका लागि रसुवामा हालसम्म ११३ वटा उडान गरिएको छ। ती उडानमार्फत १०० स्थानमा राहत वितरण गरिएको र करिब १४ हजार जना लाभान्वित भएको जनाइएको छ ।

यस्तै, नुवाकोटमा ८६ वटा उडान गरी ५० स्थानमा राहत वितरण गरिएको छ। यसबाट करिब ८ हजार ४०० जना लाभान्वित भएको सशस्त्र प्रहरीले जनाएको छ ।

घटनामा सशस्त्र प्रहरीका १३ जना बेपत्ता भएकामा एक जनाको शव फेला परेको र १२ जना अझै बेपत्ता रहेको जानकारी दिइएको छ ।

टनेल रेस्क्युका लागि पनि सशस्त्र प्रहरीले छुट्टै जनशक्ति परिचालन गरेको जनाएको छ । नुवाकोटमा १७ गते ६३ जना, १८ गते ४१ जना, २० गते १०४ जना र २१ गते २७ जना परिचालन गरिएको थियो। त्यस्तै रसुवामा १७ गते ६० जना, १८ गते ३९ जना र २० गते ९९ जना परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका सुरक्षा निकायले प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत वितरणको कामलाई निरन्तरता दिइरहेका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार १८:१४   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।