Logo

Feature Story

जेनजी शहीद गोपालका बुबा–आमाको कामना ः ‘अब कुनै गोपालले रगत बगाउन नपरोस्’



झापा । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका अर्जुनधारा नगरपालिका–११ का ज्ञानिन्द्र (गोपाल) सेढाईंको परिवार अझै स्तब्ध छ र गोली किन प्रहार गरियो भन्ने प्रश्नको जवाफ खोजीरहेको छ ।

उनीहरु जेनजी शहीद छोराको स्मृतीमा भावुक मात्र बनिरहेका छैनन्, ज्यान गुमाएका युवाको बलिदानी खेर नजाओस् र अब फेरि कुनै युवाले रगत बगाउन नपरोस् भन्ने कामना पनि गरिरहेका छन् ।

आन्दोलनका क्रममा गोपालले ज्यान गुमाएको एक वर्ष पुग्न लाग्दा उनका ८३ वर्षीय बुबा धनपति सेढाईंको मनमा भने छोराको सम्झना अझै ताजा छ । छोराको मृत्युको पीडासँगै उनले मुलुकमा फेरि अशान्ति र आन्दोलनको अवस्था नआओस् भन्ने कामना गरिरहेका छन् ।

गोपालको निधन भएको दिन सम्झँदै धनपतिले भने, ‘मेरो छोरा दोषी थिएन । उसलाई किन गोली हानियो भन्ने प्रश्नको जवाफ अझै मेरो मनमा छ । अब फेरि कुनै बाबुआमाले हामीले जस्तो पीडा भोग्नु नपरोस् ।’

आँखाभरि आँसु पार्दै उनले पछिल्लो समय देशमा देखिएको प्राकृतिक विपद् र विभिन्न राजनीतिक गतिविधिका समाचार सुन्दा आफू थप चिन्तित हुने गरेको बताए ।

अहिले देशका विभिन्न क्षेत्रमा बाढी पहिरोको विपद् रहेको उल्लेख गर्दै उनले फेरि जेनजी पुस्ताले आन्दोलन गर्न लागेको भन्ने हल्ला सुन्दा आफूलाई डर लाग्ने गरेको बताए ।

‘देशमा अहिले बाढीको ताण्डव छ । मानिसहरू दुःखमा छन् । यस्तो बेलामा फेरि नयाँ जेनजीले आन्दोलन गर्ने भन्ने हल्ला सुन्छु । मेरो कामना सरकारले युवाका माग सुनेर समाधान गरोस्,’ उनले भने, ‘कसैको रगत बगाएर परिवर्तन खोज्ने अवस्था फेरि नआओस् ।’

गोपाल गत वर्ष भदौ २४ गते जेनजी आन्दोलनका क्रममा बिर्तामोडमा प्रहरीको गोली लागेर मारिएका थिए । त्यस दिन बिहान रक्तदान गरेपछि घर फर्किएका उनले बुबालाई उपचारका लागि शनिश्चरे अस्पताल पु¥याएका थिए ।

अस्पतालबाट फर्किएपछि परिवारसँगै खाना खाएर उनी घरबाट बाहिरिएका थिए । साथीहरूसँग बिर्तामोड बजार पुगेका गोपाल आन्दोलनमा सहभागी भएका थिए ।

आन्दोलनका क्रममा छातीमा गोली लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि बिएण्डसी मेडिकल कलेज लगिएको थियो । उपचारकै क्रममा उनको निधन भएको थियो ।

छोराको निधनपछि सेढाईं परिवारले उनको बिहेको तयारीसमेत अघि बढाउन सकेन । गोपालले चार वर्षअघि आफ्नै लागि पक्की घर बनाएका थिए । बुढेसकालमा छोराको सहारामा जीवन बिताउने सपना बुनेका धनपति र उनकी पत्नी गुनमायाका लागि त्यो घर अहिले सम्झनाको घर बनेको छ ।

‘मंसिरमा छोराको बिहे गर्ने तयारी थियो । घरमा नयाँ बुहारी आउने र घरमा खुसी छाउने सपना देखेका थियौँ,’ धनपतिले भने, ‘तर सबै सपना चकनाचुर भयो । छोरा गयो, हाम्रो सहारा गयो ।’

छोराको मृत्युको पीडा बोकेर बसेका धनपतिलाई अहिले अर्को चिन्ताले सताउन थालेको छ–कतै फेरि कुनै युवाको रगत त बग्ने होइन ?

उनी आन्दोलन वा विरोधको अधिकारको विरोधमा नभएको बताउँछन् । तर नागरिकको आवाज सुन्ने र समस्या समाधान गर्ने जिम्मेवारी सरकारको भएको उनको भनाइ छ ।

‘सरकारले जनताको कुरा सुन्नुपर्छ । युवाको माग बुझ्नुपर्छ । समस्या छ भने वार्ताबाट समाधान गर्नुपर्छ,’ उनले भने, ‘गोपालहरू मर्नुपर्ने गरी कुनै आन्दोलन नहोस् ।’

गोपालकी दिदी तुलसा सेढाईं पनि अहिले विगतको घटनालाई सम्झँदा भावुक हुन्छिन् । भाइलाई दाजुभाइभन्दा बढी साथीका रूपमा सम्झने तुलसा अब युवाले फेरि सडकमा रगत बगाउने अवस्था आउन नहुने बताउँछिन् ।

उनका अनुसार गोपाल सँधै समाज परिवर्तनको कुरा गर्थे । ‘हामीले नै समाज बदल्नुपर्छ, अरूलाई पर्खेर हुँदैन भन्ने उसको भनाइ हुन्थ्यो,’ तुलसाले भाइलाई सम्झँदै भनिन् ।

तर अहिले उनको धारणा फेरिएको छ । गोपालसहितका युवाले परिवर्तनका लागि दिएको बलिदानीको मूल्य राज्यले बुझ्नुपर्ने उनको भनाइ छ ।

‘अब हामीले सडकमा गएर केही पनि हुँदैन । फेरि आन्दोलन गरेर, फेरि रगत बगाएर समस्या समाधान हुँदैन,’ तुलसाले भनिन्, ‘हामी नबोलीकनै सरकारले गोपालहरूजस्ता युवाको बलिदानीको महत्त्व बुझोस् भन्ने चाहन्छौँ ।’

उनले अहिले देश विभिन्न समस्याबाट गुज्रिरहेको भन्दै सरकार र सम्बन्धित पक्षले जनताको पीडा बुझेर काम गर्नुपर्ने बताइन् ।

‘हामीले अब कुनै अशुभ समाचार सुन्न नपरोस् । कुनै बुबाले आफ्नो छोराको शव हेर्न नपरोस् । कुनै आमाले ‘मेरो छोरा कहिले फर्कन्छ’ भनेर रुन नपरोस्,’ तुलसाले भनिन् ।

गोपालको निधनपछि उनका परिवारका लागि समय अघि बढे पनि पीडा भने उस्तै छ । घरमा रहेका उनका सामान, उनले प्रयोग गरेका वस्तु र उनीसँग जोडिएका सम्झनाले परिवारलाई बारम्बार विगतमा फर्काउने गरेको छ ।

एक वर्ष पुग्नलाग्दा पनि गोपालकी आमा गुनमायाको आँखामा आँसु रोकिएको छैन । छोराको फोटो हेर्दै उनी अझै पनि गोपाल फर्केर आउने आशामा भावुक हुने गर्छिन् ।

गोपालको परिवारका लागि शहीद घोषणा र सम्मानभन्दा पनि उनको मृत्युको कारण र त्यसबाट राज्यले लिएको पाठ महत्त्वपूर्ण रहेको बुबा धनपतिको भनाइ छ ।

‘हामीलाई छोरा फर्काएर दिन सकिँदैन । त्यो हाम्रो भाग्यमा रहेनछ,’ उनले भने, ‘तर गोपालको जस्तो अवस्था अरू कसैको नहोस् । उसको मृत्युबाट सरकारले सिक्नुपर्छ ।’

जेनजी आन्दोलनमा झापाबाट गोपालसहित युवाले ज्यान गुमाएका थिए । आन्दोलनमा मारिएका झापाका ज्ञानिन्द्रसहित धेरै युवाहरूलाई नेपाल सरकारले शहीद घोषणा गरेको परिवारले जनाएको छ ।

गोपालको परिवारका लागि शहीद घोषणा सम्मानको विषय भए पनि त्यो सम्मानसँगै राज्यले युवाको आवाज सुन्ने वातावरण बनाउनुपर्ने अपेक्षा छ ।

बुढेसकालमा छोराको सहारामा जीवन बिताउने सपना बोकेका धनपतिका लागि अहिले गोपाल सम्झनामा मात्र छन् । छोराको बिहे गरेर घरमा बुहारी भित्र्याउने सपना देखेका उनी अब अर्को एउटा मात्र सपना देख्छन् । देशमा शान्ति होस् र कुनै बाबुआमाले छोराको शव काँधमा बोक्न नपरोस् ।

‘गोपाल गयो, अब अर्को गोपाल नजाओस्,’ आँसु पुछ्दै धनपतिले भने, ‘हाम्रो जस्तो पीडा कसैले भोग्नु नपरोस् । सरकारले युवाको कुरा सुनोस्, देशमा शान्ति होस् ।’

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलवार ०७:०८   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।