Logo

प्रमुख समाचार

सहीद परिवारलाई सुनारको सान्तवना: ‘तिम्रो छोराले गोली खाएर देशले सिटामोल खान पायो’



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले जेनजी आन्दोलनका शहीदहरूको बलिदानबाट देशमा सुशासन र परिवर्तनको बाटो खुलेको बताएका छन्।

मंगलबार आयोजित जेनजी शहीद स्मृति दिवस कार्यक्रममा बोल्दै सांसद सुनारले शहीद परिवार, घाइते तथा आन्दोलनमा सहभागी सबैप्रति सम्मान व्यक्त गर्दै शहीदहरूको बलिदान खेर जान नदिने प्रतिबद्धता जनाए।

उनले शहीद परिवारलाई सम्बोधन गर्दै भने, ‘तिम्रो छोरो ढल्यो, यो देश उठ्यो। तिम्रो छोराले गोली खाएर यो देशले सिटामोलको गोली खान पाएको हो।’

आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको त्यागलाई स्मरण गर्दै सुनारले उनीहरू देशमा नयाँ सुशासनको ‘बिउ’ बनेर रोपिएको बताए। उनले शहीदका आमाहरूले देशका लागि सपुत जन्माएको भन्दै उनीहरूको योगदानप्रति नमन गरे।

उनले भने, ‘तिम्रो छोरो मरेको होइन, तिम्रो छोरो यो समाज वा देशमा बिउ बनेर रोपिएको छ। बिउ बनेर रोपिएपछि नयाँ सुशासनका वृक्षहरू उम्रिएका छन्।’

सुनारले आन्दोलनमा घाइते भएका युवाहरूको पीडाले देशलाई अघि बढ्ने बाटो दिएको दाबी गरे। खुट्टामा गोली लागेर हिँड्न नसक्ने तथा आँखामा चोट लागेर संसार देख्न नसक्ने अवस्थाका घाइतेहरूलाई सम्बोधन गर्दै उनले उनीहरूले भोगेको पीडाका कारण देशले अघि बढ्ने र नयाँ संसार देख्ने अवसर पाएको बताए।

उनले सरकारको नेतृत्व गरिरहेको रास्वपाले शहीद परिवार, घाइते र आन्दोलनका माग सम्बोधन गर्ने दाबी पनि गरे। बजारमा सरकारले आन्दोलनका माग पूरा गर्छ कि गर्दैन भन्ने आशंका फैलाइएको भन्दै उनले सरकार देश, घाइते र शहीद परिवारको जिम्मेवारी लिन तयार रहेको बताए।

उनले भने,‘यो सरकारले माग सम्बोधन गर्छ, यो देशको जिम्मा लिन्छ, घाइतेको जिम्मा लिन्छ, शहीदको जिम्मा लिन्छ। प्रत्येक आमाहरूको जिम्मा लिन हामी तयार भएर आएका छौँ।’

सरकारलाई ‘आलाकाँचा’ भन्दै आलोचना गर्नेहरूलाई जवाफ दिँदै सुनारले आफूहरू नयाँ भए पनि भ्रष्ट नभएको दाबी गरे।

‘हामी आलो हौँला, काँचो हौँला तर कुहिएका छैनौँ आमा,’ उनले भने, ‘ढुक्क हुनु, सुखले बाँच्ने दिन आउँदैछ ।’

सुनारले भ्रष्टाचारमा संलग्न जोसुकै भए पनि कारबाही गर्ने चेतावनी दिए। पूर्व वा बहालवाला जुनसुकै पदमा रहेका व्यक्तिले एक रुपैयाँ पनि भ्रष्टाचार गरेको प्रमाणित भए कारबाहीको दायरामा ल्याउने उनको भनाइ थियो।

‘चाहे पूर्व हुन्, चाहे बहालवाला हुन्, चाहे हिजोका हुन्, चाहे आजका हुन्, जसले एक रुपैयाँ पनि भ्रष्टाचार गरेको छ, प्रत्येकको कोठा–खोलो समातेर कारबाही हुनेछ,’ उनले भने।

उनले शहीदहरूको रगत खेर जान नदिने बताउँदै सुशासन र भ्रष्टाचारविरुद्धको अभियानमा सरकार दृढ भएर अघि बढ्ने दाबी गरे। आफूहरू पाँच वर्षका लागि निर्वाचित सांसद मात्र नभई आवश्यक परे जीवन नै दाउमा राखेर भ्रष्टाचारविरुद्ध लड्न तयार रहेको उनको भनाइ थियो।

जेन्जी आन्दोलनका क्रममा घाइते भएका तथा शहीद परिवारका मागप्रति सरकारको ध्यानाकर्षण गराउँदै सुनारले आफूहरू पनि उनीहरूको माग सम्बोधनका लागि सक्रिय रहेको बताए।

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलवार १५:१९   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।