काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन असोज ३ र ४ गते हुने भएको छ। यसअघि भदौ २४ गतेदेखि वडा अधिवेशन गर्ने कार्यतालिका रहे पनि रसुवाको भोटेकोशीमा आएको बाढीका कारण मिति पछि सारिएको हो।
कांग्रेस निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार असोज ३ र ४ गते देशभरका ६ हजार ७४३ वडामा अधिवेशन हुनेछ। सोही क्रममा क्षेत्रीय प्रतिनिधिसमेत चयन गरिनेछ।
निर्वाचन समितिका अनुसार असोज ७ गते गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको अधिवेशन हुनेछ। असोज १० गते प्रदेशसभा क्षेत्रीय तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने कार्यतालिका छ।
कांग्रेसको केन्द्रीय महाधिवेशन भने असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ।
बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा भने सम्बन्धित निर्वाचन अधिकृत र पार्टीको स्थानीय तहसँगको समन्वयमा अधिवेशन सम्पन्न गरिने खड्काले बताएका छन्।
त्यस्तै, नेपाली जनसम्पर्क समितिका बाँकी रहेका देशको अधिवेशन असोज १० गतेभित्र सम्पन्न गर्ने तयारी छ। जिल्ला र प्रदेश अधिवेशनको मिति भने दोस्रो चरणमा सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ।
















प्रतिक्रिया