Logo

समाचार

आज थुनिएको किम्रुङ खोलामा असार २८ गते पनि एक्कासि बाढी आएको थियो



कास्की । अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङखोलामा मंगलबार साँझ पानीको बहाव एक्कासि रोकिएको छ। पहिरो खसेर खोला थुनिएको हुन सक्ने स्थानीयले बताएका छन्।

साँझ करिब ६ः३० बजेदेखि खोलाको पानीको बहाव रोकिएको सूचना पाएपछि गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीसहितको टोली घटनास्थलतर्फ गएको छ।

यसअघि गत असार २८ गते पनि किम्रुङखोलामा एक्कासि बाढी आएको थियो। बाढीले पुल बगाउनुका साथै आसपासका होटलमा क्षति पुर्‍याएको थियो।

खोला थुनिएको खबरपछि अन्नपूर्ण गाउँपालिकाले किम्रुङखोला र मोदीखोला तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

किम्रुङखोला मोदी नदीमा मिसिने भएकाले कास्की र पर्वतका वीरेठाँटी, नयाँपुललगायत नदी तटीय क्षेत्रमा समेत उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले अपिल गरेको छ।

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलवार २१:३३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।