Logo

समाचार

२४ घण्टामा लोमान्थाङमा ७ पटक भूकम्पको धक्का, त्रासमा गाउँले



काठमाडाैं । पछिल्लो २४ घण्टामा मुस्ताङको लोमान्थाङ क्षेत्रमा ७ पटक भूकम्पको धक्का महसुस भएपछि स्थानीय त्रसित बनेका छन् । मुस्ताङको उत्तरी गाउँपालिका लोमान्थाङका स्थानीयहरू पटक पटक भूकम्प आएपछि त्रसित भएका छन् ।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हूर्बू गुरुङका अनुसार भूकम्पका कारण गाउँपालिकाभित्रका अधिकांश घरमा चिरा परेको छ भने धेरै घर तत्काल बसोबास गर्न जोखिमपूर्ण अवस्थामा पुगेका छन् ।

ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको लोमान्थाङ माटोका परम्परागत संरचनाका लागि परिचित छ । निरन्तरको भूकम्पले पुराना मात्र नभई नयाँ संरचनामा समेत क्षति पुर्‍याएको अध्यक्ष गुरुङले बताए । ‘पुराना र नयाँ केही नभनी भूकम्पले क्षति गरेको छ । धेरैजसो घर चिरिएका छन्,’ उनले भने, ‘अलिबेर अडिएर भूकम्प आयो भने धेरै घर गर्ल्यामगुर्लुम ढल्ने जोखिम छ ।’

गाउँपालिकाको प्रारम्भिक आकंलनअनुसार २० देखि ३० प्रतिशत घर पूर्ण रूपमा बसोबास गर्न अयोग्य भएका छन् । करिब ५० प्रतिशत घरमा उल्लेख्य क्षति पुगेको अनुमान गरिएको छ । गाउँपालिकाले धेरैजसो घरमा कुनै न कुनै प्रकारको चिरा वा संरचनात्मक क्षति देखिएको जनाएको छ ।

अहिलेसम्म मानवीय तथा पशुचौपायाको क्षति भने नभएको गाउँपालिकाले जनाएको छ ।

माटोले बनेका पुराना तथा ऐतिहासिक संरचना भएकाले थप भूकम्प वा पराकम्पन आए बाँकी संरचनासमेत भत्किन सक्ने जोखिम रहेको स्थानीय अधिकारीहरूले बताएका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत न्युटन लम्सालका अनुसार क्षतिको वास्तविक अवस्था पत्ता लगाउन प्राविधिक टोली, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोली फिल्डमा खटिएको छ । ‘जनप्रतिनिधि, कर्मचारी, प्राविधिक र सुरक्षा टोली वडा–वडामा पुगेर मुचुल्का उठाउने र क्षतिको अवलोकन गर्ने काम सुरु गरिसकिएको छ,’ उनले बताए ।

गाउँपालिकाले प्रभावित क्षेत्रमा घर तथा अन्य संरचनाको क्षति विवरण संकलन गर्न टोली परिचालन गरेको छ । प्राविधिक टोलीले कुन घर तत्काल खाली गर्नुपर्ने अवस्थामा छ, कुन घर मर्मतपछि बस्न मिल्ने अवस्थामा छ र कुन संरचना पूर्ण रूपमा जोखिममा छ भन्ने वर्गीकरणसमेत गर्ने तयारी गरेको छ ।

क्षतिको प्रारम्भिक जानकारी जिल्ला प्रशासन कार्यालयसँगै प्रदेश र संघीय सरकारलाई समेत पठाइएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार १३:३६   :  बजे

117
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।