Logo

समाचार

रसुवाको भोर्ले बजारनजिक सुक्खा पहिरो खस्दा सडक अवरुद्ध



काठमाडौं । रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजारनजिक बुधबार साँझ ठूलो सुक्खा पहिरो खस्दा जिरो–भोर्ले–पार्च्याङ सडकखण्ड अवरुद्ध भएको छ।

बागेश्वरी मन्दिरनजिकै पहिरो खसेपछि सडकमा यातायात पूर्ण रूपमा प्रभावित भएको हो। मुख्य सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको यो सडकसमेत बन्द भएपछि रसुवा जाने र फर्कने यात्रु बाटोमै रोकिएका छन्।

बाढीका कारण नुवाकोटको बेत्रावती हुँदै स्याफ्रुवेंशी र धुन्चे जोड्ने मुख्य सडक यसअघि नै अवरुद्ध छ। त्यसपछि काठमाडौँ तथा नुवाकोट हुँदै रसुवा जाने सवारीसाधनले जिरो–भोर्ले–पार्च्याङ सडक प्रयोग गर्दै आएका थिए।

वैकल्पिक मार्गसमेत पहिरोले बन्द भएपछि बाढी प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याएर फर्किएका सवारीसाधन तथा रसुवा जाने तयारीमा रहेका राहत टोलीसमेत बाटोमै रोकिएका छन्।

सडक खुलाउन दुईवटा डोजर परिचालन गरिएको छ। सम्बन्धित निकायले पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाएको छ।

 

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार १९:५८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।