Logo

अर्थ

बाढीपहिरो प्रभावितका लागि शाओमी नेपालको २० लाख सहयोग



काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि शाओमी नेपालले २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

शाओमी नेपालले विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत तथा सहयोग उपलब्ध गराउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सहयोग गरेको हो ।

बाढी तथा पहिरोका कारण विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति हुनुका साथै धेरै परिवार प्रभावित भएका छन् । यस्तो कठिन परिस्थितिमा प्रभावित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको भन्दै शाओमी नेपालले मानवीय सहयोगस्वरूप उक्त रकम प्रदान गरेको जनाएको छ ।

उक्त सहयोग रकम रमेशकर्पका कार्यकारी निर्देशक सञ्जय अग्रवाल, भत्सल इम्पेक्सका निर्देशक नितेश कुमार मद्रा र शाओमी नेपालका विकी तथा वितरण प्रमुख दिनेश राईले अर्थमन्त्रीलाई हस्तान्तरण गरेका हुन् । उक्त अवसरमा विपद्बाट प्रभावित परिवार तथा समुदायप्रति सहानुभूति व्यक्त गर्दै राहत, उद्धार तथा पुनःस्थापनाका लागि भइरहेका सरकारी प्रयासमा आफ्नोतर्फबाट सहयोग पुऱ्याउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

शाओमी नेपालले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकलाई सहयोग गर्न पाएकोमा आफूहरू जिम्मेवार रहेको उल्लेख गर्दै यस सहयोगबाट राहत तथा उद्धारका कार्यमा केही योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

‘नेपालसँगै, नेपालका लागि’ भन्ने भावनासहित शाओमी नेपालले नेपाली समुदायको सुख-दुःखमा साथ दिँदै आएको र आगामी दिनमा पनि आवश्यक सहयोग तथा सामाजिक उत्तरदायित्वका कार्यमा निरन्तर योगदान गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८३, शुक्रबार १७:१७   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।