Logo

अर्थ

एमसीसीअन्तर्गत १८ किमि प्रसारण लाइन निर्माण सम्पन्न



काठमाडौं। एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत न्यू बुटवल सबस्टेसनदेखि नेपाल–भारत सीमासम्मको ४०० केभी प्रसारण लाइनको १८ किलोमिटर खण्ड निर्माण सम्पन्न भएको छ।

एमसिए–नेपालका अनुसार नेपाल–भारतबीच विद्युत् आदानप्रदान सहज बनाउनुका साथै आन्तरिक प्रसारण सञ्जाल सुदृढ गर्न यो पूर्वाधार महत्त्वपूर्ण हुनेछ। तर, प्रसारण लाइन तयार भए पनि न्यू बुटवल ४०० केभी सबस्टेसन निर्माण पूरा हुन अझै समय लाग्ने भएकाले तत्काल ४०० केभीमा सञ्चालन गर्न सकिने छैन।

नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकको सहमतिअनुसार सबस्टेसन सन् २०२७ डिसेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य छ। त्यसअघिसम्म सीमासम्मको लाइनलाई प्रारम्भिक रूपमा २२० केभीमा सञ्चालन गरिनेछ।

डिसेम्बर २०२६ देखि मार्च २०२७ सम्म यही मार्गबाट नेपालले बढीमा १३० मेगावाट विद्युत् आयात गर्न तथा अप्रिलदेखि नोभेम्बर २०२७ सम्म बढीमा २०० मेगावाट विद्युत् भारततर्फ निर्यात गर्न सक्नेछ।

न्यू बुटवल सबस्टेसन निर्माणका लागि एमसिए–नेपालले ९ मे २०२४ मा भारतीय कम्पनी लिन्क्सन इन्डिया प्रालिसँग करिब ३ करोड ५५ लाख अमेरिकी डलरमा ठेक्का सम्झौता गरेको थियो।

३९ महिनाको निर्माण अवधि रहेको आयोजनामा हाल जीआईएस भवन, नियन्त्रण भवन, ट्रान्सफर्मरको जग, ग्यान्ट्रीलगायत संरचना निर्माण भइरहेको छ।

 

प्रकाशित मिति : २८ भाद्र २०८३, आईतवार १८:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।