Logo

राजनीति

वडा अधिवेशनमा गए निवर्तमान केन्द्रीय सदस्यलाई फेरि समेट्ने कांग्रेसको निर्णय



काठमाडौं। नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनमा सहभागी हुने १४औँ महाधिवेशनका निवर्तमान केन्द्रीय सदस्यलाई वर्तमान केन्द्रीय समितिमा समेट्ने निर्णय गरेको छ।

आइतबार सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले असोज ३ र ४ गते हुने वडा अधिवेशनमा सहभागी हुन नेता–कार्यकर्तालाई आह्वानसमेत गरेको छ।

महामन्त्री प्रदीप पौडेलका अनुसार १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका तर गत पुसको विशेष महाधिवेशनपछि बनेको कार्यसमितिमा नरहेका नेताहरू वडा अधिवेशनमा सहभागी भए उनीहरूलाई केन्द्रीय समितिमा समेटिनेछ।

कांग्रेसको संशोधित विधानअनुसार अब केन्द्रीय सदस्य पनि सम्बन्धित वडाबाट निर्वाचित भएर आउनुपर्नेछ। उनीहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छैन।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालाले विशेष महाधिवेशनबाट बनेको कार्यसमितिमा नसमेटिएका १४औँ महाधिवेशनका १११ जना केन्द्रीय सदस्यलाई पुनः केन्द्रीय समितिमा ल्याउन सभापति गगन थापासँग आग्रह गरेका थिए।

कांग्रेसका एक पदाधिकारीले भने सबै निवर्तमान केन्द्रीय सदस्यलाई स्वतः समेट्ने निर्णय नभएको स्पष्ट पारे।

‘जो वडा गएर १५औँ महाधिवेशन प्रक्रियामा सहभागी हुन्छन्, उनीहरूलाई केन्द्रीय समितिमा समेट्ने निर्णय भएको हो,’ उनले भने।

प्रवक्ता देवराज चालिसेले पनि विशेष महाधिवेशनमा सहभागी नभएका निवर्तमान केन्द्रीय सदस्यलाई पुनः प्रक्रियामा आउने बाटो खुला गरिएको बताए। उनका अनुसार अद्यावधिक सदस्यता विवरण निर्वाचन समितिलाई बुझाइसकिएको छ र अब वडा तहमा पठाइनेछ।

पार्टीभित्रको एकता कायम गर्दै १५औँ महाधिवेशन प्रक्रियामा अघि बढ्न यस्तो निर्णय गरिएको कांग्रेसले जनाएको छ।

प्रकाशित मिति : २८ भाद्र २०८३, आईतवार २०:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।