Logo

समाचार

सुनसरीसहित मिथिला क्षेत्रमा हर्षोल्लासका साथ चोठचन्द्र पर्व सम्पन्न



इनरुवा । सुनसरीसहित मिथिला क्षेत्रमा गणेश चतुर्थी अर्थात् चोठचन्द्र (चौरचन) पर्व श्रद्धा, निष्ठा र हर्षोल्लासका साथ मनाइएको छ । मिथिला संस्कृतिमा विशेष महत्त्व राख्ने यस पर्वमा चन्द्रमाको पूजा आराधना गर्दै परिवारको सुख, शान्ति, आरोग्यता र समृद्धिको कामना गरिएको छ ।

भाद्र शुक्ल पक्षको चौथी तिथिमा मनाइने चोठचन्द्र पर्वका अवसरमा यस क्षेत्रका मैथिल समुदायले आआफ्ना घरको आँगन तथा छतलाई पवित्र रूपले लिपपोत गरी अरिपान (चपिँड) बनाएका थिए ।

त्यसपछि विभिन्न प्रकारका पकवान, फलफूल र चकमरो (माटोको भाँडो) मा राखेको विशेष दही चन्द्रमालाई अर्पण गरिएको थियो । पर्वका अवसरमा विशेष गरी पेडा, पुरी, फलफूल र नैवेद्यसहितका परिकारहरू चन्द्रमालाई चढाउने र रातिको समयमा चन्द्र दर्शन गर्ने परम्परा छ ।

धार्मिक मान्यता अनुसार यस दिन चन्द्रमाको दर्शन गर्नाले समाजमा लाग्ने झूटा कलंक वा लाञ्छनाबाट मुक्ति पाइने र पारिवारिक कल्याण हुने विश्वास गरिन्छ ।

सुनसरीका इनरुवा, इटहरी, दुहबी तथा धरानलगायत विभिन्न स्थानमा बसोबास गर्ने मैथिल समुदायले आफ्ना घरपरिवारका साथ यो पर्व उल्लासपूर्ण रूपमा मनाएका छन् । पर्वका अवसरमा घरका महिलाहरू दिनभर उपवास बसी साँझको समयमा विधिपूर्वक पूजा सम्पन्न गरेका थिए ।

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलवार ०६:५४   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।