Logo

प्रमुख समाचार

१५औँ महाधिवेशनमा कांग्रेस सभापतिमा गगन थापा दोहोरिने संकेत



काठमाडौं । नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशनबाट सभापतिमा गगन थापा नै दोहोरिने सम्भावना बलियो बन्दै गएको छ।

गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति चुनिएका थापाको विकल्प तत्काल देखिन नसकेको पार्टीभित्रका नेताहरूको दाबी छ।

महाधिवेशनलाई लक्षित गर्दै कांग्रेसभित्र नयाँ समीकरण निर्माण भइरहेका छन्। वर्तमान पदाधिकारीमध्ये अधिकांशले आफू रहेकै पदमा दोहोरिने तयारी गरिरहेको देखिएको छ।

उपसभापति विश्वप्रकाश शर्मा पुनः उपसभापतिमै प्रतिस्पर्धा गर्ने तयारीमा छन्। सहमहामन्त्री योगेन्द्र चौधरीसहितका नेताहरूले पनि वर्तमान पदाधिकारीहरू दोहोरिने वातावरण बन्दै गएको संकेत गरेका छन्।

महाधिवेशनमा विगतमा जस्तो गुट वा प्यानल बनाएर प्रतिस्पर्धा नहुने नेताहरूको दाबी छ। नेतृत्व चयनमा पहिलो प्राथमिकता सहमतिलाई दिने र सहमति हुन नसके खुला चुनावी प्रक्रियाबाट नेतृत्व चयन गर्ने तयारी कांग्रेसभित्र छ।

महामन्त्री गुरुराज घिमिरे र उपसभापति पुष्पा भुसालले पनि नेतृत्व चयनमा सर्वसम्मतिको प्रयास गरिने बताएका छन्। सहमति हुन नसके निर्वाचनमार्फत प्रतिस्पर्धा हुने उनीहरूको भनाइ छ।

यता निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरूलाई पनि महाधिवेशन प्रक्रियामा समेट्ने प्रयास भइरहेको छ। असोज ३ र ४ गते हुने वडा अधिवेशनमा सहभागी भए १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई सोही हैसियतमा सहभागी गराउने निर्णयपछि देउवा पक्षका करिब ७० जना नेताहरू संस्थापन पक्षको महाधिवेशन क्यालेन्डरमा सहभागी हुन तयार भएको बताइएको छ।

यसले कांग्रेसभित्र लामो समयदेखि देखिँदै आएको गुटगत दूरी केही हदसम्म घटाउने अपेक्षा गरिएको छ। यद्यपि महाधिवेशनको मिति, प्रतिनिधि चयन र नेतृत्वको अन्तिम समीकरणमा अझै थप छलफल र सहमतिको आवश्यकता देखिन्छ।

यसैबीच महामन्त्री प्रदीप पौडेल नेतृत्वको विधान मस्यौदा समितिले पार्टी विधान परिमार्जनको गृहकार्य गरिरहेको छ। प्रस्तावित संशोधनमा पदाधिकारीमा एकतिहाइ महिला सहभागिता, समानुपातिक–समावेशी प्रतिनिधित्व तथा युवामैत्री व्यवस्था समेट्ने तयारी गरिएको छ।

कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका रूपमा थापाको निरन्तरताको चर्चा बलियो बने पनि अन्तिम टुंगो महाधिवेशनको प्रक्रिया र सहमतिले नै लगाउनेछ।

पदाधिकारीको पुनरावृत्ति, देउवा पक्षको समायोजन, गुटबिनाको प्रतिस्पर्धा र विधान संशोधन यसपटकको महाधिवेशनका मुख्य विषय बन्ने देखिएको छ।

प्रकाशित मिति : १ आश्विन २०८३, बिहीबार ०७:३३   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।