Logo

प्रमुख समाचार

दुवै महाधिवेशन रोकौं, एउटा मध्यमार्गी र विवेकपूर्ण समझदारीको बाटो खोजौं: शेखर कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको आन्तरिक विभाजन र गुटबन्दीप्रति चिन्ता व्यक्त गर्दै पार्टीलाई एकताबद्ध बनाउन आह्वान गरेका छन् ।

पार्टीको आन्तरिक समस्या र आसन्न दुई महाधिवेशनको सन्दर्भमा बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले दुवै महाधिवेशनबाट देशको राष्ट्रियता र लोकतन्त्रको आन्दोलनलाई आघात पर्ने बताएका छन् ।

‘मेरो पीडा कांग्रेसको आसन्न घोषित दुुई महाधिवेशनबाट यो देशको राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा पर्ने आघात हो । यो रोकाैं, एउटा मध्यमार्गी र विवेकपूर्ण समझदारीको बाटो खोजौं ।’

उनले पार्टीभित्रको विवादमा आफू मध्यमार्गी भूमिकामा रहेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘मलाई थाहा छ मध्यमार्ग कठिन मार्ग हो, यही मार्ग सत्यको बाटो हो । यही मार्ग कांग्रेसको मार्ग हो, र यही मार्ग कांग्रेसको जीवन दर्शन हो । म आरोपित भएर, भइरहेको पनि छु, कांग्रेस र देशको लोकतन्त्र सफल भएको हेर्ने कांग्रेस सिपाही हुँ ।’

रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा प्राकृतिक प्रकोपका कारण नागरिकले भोगिरहेको पीडाप्रति पार्टी गम्भीर नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन् । ‘नेपाली जनता रोइरहेका छन्, परिवारका सदस्य गुमाएका छन् । उनीहरूको पीडाको मल्हम बन्नुपर्ने कांग्रेस किन कानुन र विधानका धारामा अल्झिएर मानवीय संवेदनासँग खेलबाड गर्दैछ ?’ उनले प्रश्न गरेका छन् ।

कांग्रेस एकता र राष्ट्र निर्माणको अभियानलाई फरकरुपमा बुझ्न नसक्ने भन्दै संवाद लिएर कांग्रेस एकताको लागि लाग्ने बताए । उनले अगाडि भनेका छन्, ‘म कांग्रेस विभाजनबाट रोमाञ्चित हुनै सक्दिन । म को ठिक, को बेठिक, भनेर वकालत कसरी गर्न सक्छु ? कांग्रेस हुँ भन्ने तर आफ्नै साथीभाइ माथि असुरक्षा, अपमान र घृणा पैदा गरेर निर्माण गरिने कांग्रेसको महल माथि म बस्न सक्दिन ।’

‘म कसैप्रति आरोपप्रत्यारोप गर्न चाहन्न । हामी उठ्छौं, जुट्छौं र जित्छौं । यही भरोसा र विश्वासका साथ पार्टी एकता अभियानमा जुट्न गाउँदेखि विदेशसम्मका साथीहरूलाई हार्दिक अनुरोध गर्दछु,’ कोइरालाले भनेका छन् ।

 

प्रकाशित मिति : १ आश्विन २०८३, बिहीबार १४:२७   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।