Logo

अर्थ

सन नेपाल लाइफले प्राप्त गर्‍यो आईएसओ २७००१:२०२२ प्रमाणीकरण नवीकरण



काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सूचना सुरक्षा व्यवस्थापन प्रणालीसम्बन्धी अन्तर्राष्ट्रिय मानक आईएसओ/आईइसी २७००१:२०२२ को प्रमाणीकरण नवीकरण गरेको छ।

यस नवीकरणले बीमित, ग्राहक तथा सरोकारवालाका संवेदनशील सूचनाको सुरक्षा र सूचना सुरक्षा व्यवस्थापनमा निरन्तर सुधारप्रति कम्पनीको प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ ।

आईएसओ/आईइसी २७००१:२०२२ सूचना सुरक्षा व्यवस्थापन प्रणाली अर्थात् इन्फर्मेसन सेक्युरिटी म्यानेजमेन्ट सिस्टम (आईएसएमएस) सम्बन्धी विश्वव्यापी रूपमा मान्यताप्राप्त अन्तर्राष्ट्रिय मानक हो ।

यसले संस्थालाई सूचना सुरक्षासम्बन्धी जोखिम पहिचान तथा मूल्याङ्कन गर्न, आवश्यक सुरक्षा उपाय लागू गर्न र ती उपायको प्रभावकारिता नियमित समीक्षा तथा सुधार गर्न व्यवस्थित आधार प्रदान गर्दछ । यस मानकको केन्द्रमा सूचना सुरक्षाका तीन प्रमुख आधार – गोपनीयता, अखण्डता र उपलब्धता रहेका छन् ।

गोपनीयताले ग्राहकको व्यक्तिगत, वित्तीय तथा स्वास्थ्यसम्बन्धी संवेदनशील सूचनामा अधिकारप्राप्त व्यक्तिको मात्र पहुँच सुनिश्चित गर्ने उद्देश्य राख्छ।

अखण्डताले सूचना सही, पूर्ण र विश्वसनीय राख्दै अनधिकृत परिवर्तनबाट सुरक्षित गर्ने कुरालाई जोड दिन्छ । त्यसैगरी, उपलब्धताले आवश्यक समयमा अधिकारप्राप्त प्रयोगकर्ताका लागि सूचना तथा सम्बन्धित प्रणाली उपलब्ध हुने व्यवस्थालाई प्राथमिकता दिन्छ ।

जीवन बीमा सेवामा ग्राहकको व्यक्तिगत विवरण, बीमालेख, भुक्तानी तथा दाबीसम्बन्धी अभिलेखको सुरक्षित व्यवस्थापन अत्यन्त महत्त्वपूर्ण हुन्छ। डिजिटल सेवाको विस्तारसँगै यस्ता सूचनाको सुरक्षा ग्राहकको विश्वास र सेवाको विश्वसनीयतासँग प्रत्यक्ष रूपमा जोडिएको छ। यस सन्दर्भमा प्रमाणीकरणको नवीकरण कम्पनीको सूचना सुरक्षा व्यवस्थापनलाई निरन्तर सुदृढ बनाउने यात्राको महत्त्वपूर्ण उपलब्धि हो।

सन नेपाल लाइफले सूचना सुरक्षालाई आफ्नो संस्थागत जिम्मेवारी र ग्राहकप्रतिको प्रतिबद्धताको अभिन्न अङ्गका रूपमा लिएको छ । कम्पनी आगामी दिनमा पनि सूचना सुरक्षासम्बन्धी जोखिम व्यवस्थापन, कर्मचारी सचेतना तथा प्रणाली र प्रक्रियाको निरन्तर सुधारमार्फत सुरक्षित, विश्वसनीय र ग्राहककेन्द्रित बीमा सेवा प्रदान गर्न प्रतिवद्ध छ ।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहीबार ११:३९   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।