काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी–रसुवा बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका भन्सार कर्मचारीका परिवारलाई सरकार एक्लो हुन नदिने बताएका छन्।
बिहीबार अर्थ मन्त्रालयमा रसुवा भन्सार कार्यालयमा कार्यरत कर्मचारीका परिवारसँग सामूहिक भेट गर्दै वाग्लेले पीडित परिवारको शिक्षा, भरणपोषण र रोजगारीलाई सरकारले प्राथमिकतामा राख्ने बताए।
‘तपाईंहरू एक्लो हुनुहुन्न, हामी तपाईंहरूको साथमा छौं,’ उनले परिवारका सदस्यहरूलाई भने, ‘तपाईंहरूलाई परेको पीडा र दुःख हामीले पनि महसुस गरेका छौं।’
बाढीमा परी भन्सार प्रशासनका काबिल कर्मचारी गुमाउनुपरेको भन्दै उनले घटनाप्रति दुःख व्यक्त गरे। परिवारका सदस्यले बुझाएको प्राथमिक तहको मागपत्र कार्यान्वयनका लागि कानुनी आधारअनुसार मन्त्रालय र विभागले प्राथमिकताका साथ काम गर्ने उनले बताए।
कानुनअनुसार तत्काल पूरा गर्न सकिने माग छिट्टै सम्बोधन गर्ने र कानुन संशोधन आवश्यक पर्ने विषयमा सम्बन्धित मन्त्रालयसँग समन्वय गरी अघि बढ्ने वाग्लेले बताए। घटना दर्ता, बालबालिकालाई छात्रवृत्तिलगायत विषयमा समेत मन्त्रालयले प्राथमिकताका साथ काम गरिरहेको उनको भनाइ थियो।
बेपत्ता कर्मचारीको खोजीका लागि सुरक्षाकर्मी परिचालन भइरहेको जानकारी दिँदै वाग्लेले पीडित परिवारलाई सहजीकरण गर्न विशेष कार्यदल गठन गर्न मन्त्रालय प्रशासनलाई निर्देशनसमेत दिए।
भेटका क्रममा रसुवा भन्सार कार्यालयमा कार्यरत १५ कर्मचारीका परिवारका सदस्यले बाढीमा परिवारको मुख्य सदस्य गुमाएको तथा बेपत्ता भएपछि भोग्नुपरेको पीडा अर्थमन्त्रीसमक्ष सुनाएका थिए।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा रसुवा भन्सार कार्यालयमा कार्यरत नकुल शर्मा, राजेन्द्रकुमार सोनकर, विकास तामाङ, विष्णुप्रसाद भुसाल, भीमबहादुर लामा, दिनेश घिमिरे, अनिता पुरी, प्रेमप्रसाद सेढाई, गोविन्द अधिकारी, सुनिल गुरुङ, नरेशदत्त जोशी, राजु ओली, राम नेपाली, विमल त्रिपाठी र हरिबहादुर खड्का बेपत्ता भएका थिए।
तीमध्ये भन्सार अधिकृत नकुल शर्माको शव मात्र फेला परेको छ। उनको अन्तिम संस्कार भइसकेको छ भने बाँकी १४ जना अझै सम्पर्कविहीन छन्।



















प्रतिक्रिया