काठमाडाैं । नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै सञ्चालनमा रहेको नेपा एपले नयाँ संस्करणमार्फत दैनिक जीवनमा उपयोगी हुने १० भन्दा बढी नयाँ उपकरण थप गरेको छ। एपलाई थप उपयोगी, सहज र बहुउद्देश्यीय बनाउने उद्देश्यले नयाँ उपकरणहरू थप गरिएको हो।
नयाँ संस्करणमा पीडीएफ कागजात स्क्यान, क्यूआर कोड स्क्यान, इन्टरनेट गति परीक्षण, महिनावारी चक्र विवरण, एकाइ रूपान्तरण, हिसाब, टिपोट तथा सम्झना, ऋण हिसाब, स्थान पत्ता लगाउने र कर हिसाब गर्ने उपकरणलगायत सुविधा समावेश छन्।
पीडीएफ स्क्यान सुविधाबाट मोबाइलमै कागजातलाई पीडीएफ बनाउन तथा क्यूआर कोड स्क्यान गर्न सकिनेछ। इन्टरनेट गति परीक्षणबाट मोबाइलको इन्टरनेट गति जाँच गर्न सकिनेछ। महिनावारी चक्रसम्बन्धी उपकरणबाट चक्र तथा सम्बन्धित मितिको विवरण राख्नुका साथै सम्भावित महिनावारीको समयबारे सूचना प्राप्त गर्न सकिनेछ।
एकाइ रूपान्तरण र हिसाब गर्ने उपकरणले दैनिक गणना सहज बनाउनेछन्। टिपोट तथा सम्झना सुविधामार्फत महत्वपूर्ण कुरा सुरक्षित राखेर आवश्यक समयमा सूचना प्राप्त गर्न सकिनेछ भने आवाजको टिपोटसमेत सुरक्षित गर्न सकिनेछ।
ऋण हिसाब गर्ने उपकरणबाट ऋणको किस्ता तथा भुक्तानीसम्बन्धी सामान्य हिसाब र कर हिसाब गर्ने उपकरणबाट आम्दानी तथा करसम्बन्धी अनुमानित गणना गर्न सकिनेछ। स्थानसम्बन्धी सुविधाबाट आफ्नो स्थानको जानकारी प्राप्त गर्न सकिनेछ।
नेपा एपका अनुसार प्रयोगकर्ताले दैनिक आवश्यक पर्ने विभिन्न डिजिटल सेवा एउटै एपबाट सहज रूपमा प्रयोग गर्न सकून् भन्ने उद्देश्यले नयाँ उपकरण थप गरिएको हो। प्रयोगकर्ताको आवश्यकता र सुझावअनुसार आगामी दिनमा थप सुविधा ल्याइने एपले जनाएको छ।
नेपा एपमा यसअघि नै नेपाली पात्रो, पञ्चाङ्ग, राशिफल, नेपाली समाचार, जिल्ला समाचार, नेपाली एफएम रेडियो, चर्चामा रहेका विषयलगायत सामग्री उपलब्ध छन्।



















प्रतिक्रिया