Logo

राजनीति

कांग्रेस महाधिवेशनमा युवाहरुको उल्लेख्य सहभागिता



काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवाको उल्लेख्य सहभागिता देखिएको छ । महाधिवेशनमा सहभागी युवाहरूले ‘जेन्जी’ पुस्ताका युवा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा मात्रै आबद्ध छन् भन्ने बुझाइ गलत भएको बताएका छन् । उनीहरूले आगामी दिनमा ठूलो संख्यामा युवा नेपाली कांग्रेसतर्फ आकर्षित हुने दाबी गर्दै केही समयमै मुलुक कांग्रेसमय बन्ने बताएका छन् ।

महाधिवेशनमा सहभागी हुन पूर्वदेखि पश्चिमसम्मका नेता, कार्यकर्ता तथा समर्थक काठमाडौंमा भेला भएका छन् । विभिन्न जिल्लाबाट आएका कांग्रेस कार्यकर्ता खुलामञ्चमा आपसमा भेटघाट गर्दै राजनीतिक विषयमा छलफल तथा बहसमा व्यस्त देखिएका छन् ।

महाधिवेशनस्थलमा पार्टीको आगामी नेतृत्व, नीति तथा राजनीतिक भविष्यबारे कार्यकर्ताबीच छलफल भइरहेको छ । लामो समयपछि एकै ठाउँमा भेला भएका नेता तथा कार्यकर्ताबीच आपसी भेटघाट र कुराकानीले महाधिवेशनस्थलमा उत्साहपूर्ण वातावरण देखिएको छ ।

महाधिवेशनमा युवादेखि ज्येष्ठ नागरिकसम्मको सहभागिता देखिएको छ । अपाङ्गता भएका व्यक्तिहरूको समेत सहभागिता रहेको छ । खुला आकाशमुनि चर्को घामका बाबजुद उनीहरू महाधिवेशनमा उत्साहपूर्वक सहभागी भइरहेका छन् ।

पार्टी नेतृत्व चयन, आगामी राजनीतिक दिशा र कांग्रेसको भूमिकालाई लिएर सहभागीहरूबीच चासो देखिएको छ । विशेषगरी युवा प्रतिनिधि तथा समर्थकहरू कांग्रेसभित्र पुस्तान्तरण, नेतृत्व र नयाँ राजनीतिक एजेन्डाबारे छलफलमा केन्द्रित देखिन्छन् ।

महाधिवेशनका गतिविधिलाई समाचार तथा प्रत्यक्ष प्रसारणमार्फत बाहिर ल्याउन विभिन्न सञ्चारमाध्यमका पत्रकार पनि सक्रिय छन् । खुलामञ्चमा राजनीतिक बहससँगै नेता, कार्यकर्ता र समर्थकको भेटघाट तथा अन्तरक्रियाले महाधिवेशनको माहोल थप चलायमान बनेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आईतवार १५:०८   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।