काठमाडौं । दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ २३असोजदेखि खुला हुने भएको छ। यातायात व्यवस्था विभागमा मंगलबार सरोकारवाला निकायहरूबीच भएको उच्चस्तरीय बैठकले उक्त निर्णय गरेको हो।
चाडबाडको समयमा काठमाडौंबाट बाहिरिने यात्रुहरूको सहजताका लागि विभागको आयोजनामा यातायात व्यवसायी राष्ट्रिय महासंघ, यातायात श्रमिक संगठनहरू, नेपाल प्रहरी, ट्राफिक प्रहरी र नयाँ बसपार्क व्यवस्थापक ल्होत्से बहुउद्देश्यीय प्रा.लि.का प्रतिनिधि बीचको छलफलपछि असोज २३ गतेदेखि अग्रिम बुकिङ खुला गर्ने सहमति जुटेको अखिल नेपाल यातायात मजदुर संगठनका अध्यक्ष दिपक केसीले जानकारी दिए ।
यसपटक दशैंमा काठमाडौं उपत्यकाबाट मात्रै १० लाखभन्दा बढी मानिस बाहिरिने अनुमान गरिएको छ । अग्रिम टिकट बुकिङ नखुल्दा र केही कम्पनीले मात्र अनलाइन बुकिङ लिइरहँदा सर्वसाधारण यात्रुमा छाएको अन्योल यस निर्णयसँगै हटेको छ।
बैठकले यात्रुको सुरक्षा, सुविधा र यातायात व्यवस्थापनलाई मर्यादित बनाउन विभिन्न महत्त्वपूर्ण निर्णयहरू पनि गरेको छ। निर्णयअनुसार, अब लामो दूरीका सवारीसाधनमा अनिवार्य रूपमा दुई जना चालक राख्नुपर्नेछ। टिकट काउन्टरमा बस्ने कर्मचारीले अनिवार्य रूपमा परिचयपत्र र युनिफर्म लगाउनुपर्नेछ भने, टिकट काट्दा यात्रुको नाम र सम्पर्क नम्बर अनिवार्य रूपमा अभिलेख राख्नुपर्नेछ।
चाडपर्वको मौका छोपेर तोकिएको भन्दा बढी भाडा असुल गर्ने, कालोबजारी गर्ने र टिकटमा अनियमितता गर्ने जोकोहीमाथि कडा कानुनी कारबाही गरिने चेतावनी विभागले दिएको छ। पारदर्शी टिकट प्रणालीका लागि सरकार, व्यवसायी र सुरक्षा निकायबीच प्रभावकारी समन्वय गरिनेछ।
त्यसैगरी, सुरक्षित यात्रा र राजमार्गमा हुने अवरोध वा दुर्घटनाको तत्काल जानकारी आदानप्रदान गर्न केन्द्रीय सूचना केन्द्र सञ्चालनमा ल्याइने निर्णय भएको केसीले जानकारी दिए ।




















प्रतिक्रिया