Logo

समाचार

कांग्रेस महाधिवेशनमा करिब नौं हजारका लागि भोजन



काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा करिब नौं हजार जनाका लागि खानाको व्यवस्था गरिएको छ ।

भोजन व्यवस्थापन समितिका संयोजक तिलक रानाभाटले नेपाल न्यूज बैंकसँगको कुराकानीमा १९ गतेदेखि २२ गतेसम्म महाधिवेशनमा सहभागी प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवक तथा अन्यका लागि खानाको प्रबन्ध मिलाइएको बताए ।

उनले आफू महाधिवेशन कसरी सञ्चालन गर्ने भन्ने व्यवस्थापकीय भूमिकामा रहेको बताए । ‘१९ देखि २२ गतेसम्मका लागि खानाको प्रबन्ध मिलाएका छौँ। जसमा बिहानको खाजा, दिउँसोको खाना, २ बजेदेखि ५ बजेसम्म चिया–कुकिजहरू र ५ः३० बाट ८ः३० बजेसम्म बेलुकाको खाना व्यवस्थापन गरिएको छ । खानाका लागि भृकुटीमण्डप पुग्नुपर्छ,’ उनले भने ।

रानाभाटका अनुसार महाधिवेशनमा करिब ७ हजार ८ सय प्रतिनिधि छन्। पर्यवेक्षक, स्वयंसेवक तथा अन्यलाई समेत जोड्दा करिब ८ हजार ५ सयदेखि ९ हजार जनासम्मका लागि व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको उनले बताए।

उनका अनुसार बिहानको खाजामा विभिन्न परिकार राखिएको छ । खाजामा भटौरा, अण्डा, फलफूल, ब्रेड राखिएको छ ।

दिउँसोको खानामा भेज तथा ननभेज परिकार समावेश गरिएको उनले बताए । ‘भेज–ननभेज छुट्टाएका छौं । मासुमा विहान कुखुरा र खसी तोकेका छौं । बेलुका चाहिँ सादा खाना छ,’ उनले भने ।

भोजन व्यवस्थापनका लागि आन्तरिक स्रोतबाट कोष व्यवस्थापन गरिएको उनले बताए। ‘हाम्रो आन्तरिक स्रोत, इन्ट्री फी र नजिक वा पार्टीकै साथीभाइहरूबाट नै त्यो कोषको म्यानेज गरेका छौँ,’ उनले भने।

उनका अनुसार यसपटक पार्टीले आवासको व्यवस्था नगरी सहजीकरण मात्रै गर्नेछ। ‘पहिला–पहिला पार्टीले आवासको पनि दिन्थ्यो, अहिले आवासको फेसिलिटेर मात्र गरिदिएका छौं,’ उनले भने ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलवार १४:३३   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।