काठमाडौं । काठमाडौं महानगरपालिकाले निषेध गरेको क्षेत्रमा ‘XStrem Drink’ को प्रचार सामग्री टाँसेपछि महानगर प्रहरी बलले सम्बन्धित पक्षलाई कारबाही गरेको छ । महानगरले निषेध गरेको स्थानमा पोस्टर टाँसेको कसुरमा ‘Akriti Advertising’ लाई एक लाख रुपैयाँ जरिवाना गरिएको हो ।
महानगरपालिकाले सार्वजनिक स्थानको सौन्दर्य बिगार्ने गरी पोस्टर, पम्प्लेट तथा अन्य प्रचार सामग्री टाँस्न रोक लगाउँदै आएको छ । सोही व्यवस्थाविपरीत एक्सट्रिम ड्रिङ्कको प्रचार सामग्री टाँसिएको भेटिएपछि महानगर प्रहरी बलले कारबाही अघि बढाएको जनाएको छ ।
महानगरपालिकाले जारी गरेको नगदी/प्राप्ति रसिदमा ‘अनधिकृत रूपमा पर्चा, पम्प्लेट तथा पोस्टर जथाभावी टाँस गरी फोहोरमैला गर्ने’ शीर्षकमा एक लाख रुपैयाँ जरिवाना असुल गरिएको उल्लेख छ । रसिदमा सम्बन्धित पक्षका रूपमा आकृति एडभरटाइजिङ उल्लेख गरिएको छ ।
काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रलाई स्वच्छ, सुन्दर र व्यवस्थित राख्ने भन्दै सार्वजनिक स्थलमा जथाभावी प्रचार सामग्री टाँस्न निषेध गरेको छ । महानगरको अनुमति वा तोकिएको व्यवस्थाबिना पोस्टर तथा पम्प्लेट टाँस्ने कार्यले सहरको सौन्दर्य बिगार्नुका साथै सार्वजनिक स्थानमा फोहोर बढाउने भन्दै महानगरले त्यस्ता गतिविधिविरुद्ध कारबाही तीव्र बनाउँदै आएको छ ।
महानगरले विज्ञापन तथा प्रचार सामग्री राख्दा प्रचलित कानुन र महानगरपालिकाको मापदण्ड पालना गर्न सम्बन्धित व्यवसायी तथा विज्ञापन एजेन्सीलाई आग्रह गरेको छ ।




















प्रतिक्रिया