Logo

समाचार

अवैध मुद्रासहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ



काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरका विभिन्न देशका मुद्रा लिएर हङकङ जान लागेका एक चिनियाँ नागरिक पक्राउ परेका छन्।

प्रहरीका अनुसार क्याथे प्यासिफिक एयरवेजमार्फत हङकङ जान लागेका ७२ वर्षीय सुओलाङलाई विमानस्थलमा नियमित सुरक्षा जाँचका क्रममा पक्राउ गरिएको हो।

विमानस्थल सुरक्षा कार्यालयका अनुसार उनको साथ र लगेज जाँच गर्दा नेपाली रुपैयाँसहित विभिन्न देशका मुद्रा फेला परेको थियो। बरामद मुद्राको स्रोत र प्रयोजनबारे अनुसन्धान आवश्यक देखिएपछि उनलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार सुओलाङको साथबाट नेपाली रुपैयाँ ११ लाख ८६ हजार, चिनियाँ युआन ५१ हजार ७९०, अमेरिकी डलर ५ हजार ९६५, हङकङ डलर ४९ हजार ९९०, युरो २ हजार ६० र अस्ट्रेलियन डलर ५० बरामद भएको छ।

विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक राजकुमार सिलवालले बरामद मुद्राको स्रोत तथा प्रयोजनबारे अनुसन्धान भइरहेको बताए।

पक्राउ परेका सुओलाङलाई थप अनुसन्धान तथा प्रचलित कानुनअनुसार कारबाहीका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, हरिहर भवन, पुल्चोक, ललितपुर पठाइएको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार १८:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।