काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार खुमा प्रसाद अर्यालको पहलमा सञ्चालन गरिएको हेल्पडेस्कबाट ५ सय वढी महाधिवेशन प्रतिनिधि प्रत्यक्ष लाभान्वित भएका छन्।
महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई मतदान प्रक्रिया, आवश्यक सूचना तथा विभिन्न व्यवहारिक समस्यामा तत्काल सहजीकरण गर्ने उद्देश्यले खुमा अर्याल फाउन्डेसनले हेल्पडेस्क सञ्चालन गरेको हो ।
देशका विभिन्न जिल्ला तथा प्रदेशबाट आएका प्रतिनिधिहरूलाई आवश्यक जानकारी उपलब्ध गराउनेदेखि विभिन्न प्रक्रियामा सहजीकरण गर्ने काम हेल्पडेस्कबाट गरिएको फाउन्डेसनले जनाएको छ।
चुनावी प्रतिस्पर्धाबीच प्रतिनिधिको सुविधा र सहजतालाई केन्द्रमा राखेर सञ्चालन गरिएको हेल्पडेस्कलाई फाउन्डेसनले ‘राजनीतिभन्दा ठूलो सेवा’ भन्ने अवधारणासँग जोडेको छ ।
राजनीतिक पदका लागि प्रतिस्पर्धा गरिरहँदा पनि प्रतिनिधिको आवश्यकता र समस्यालाई प्राथमिकतामा राखेर सेवा गर्न सकिन्छ भन्ने सन्देश दिन हेल्पडेस्क सञ्चालन गरिएको बताइएको छ।
फाउन्डेसनका अनुसार ५४७ प्रतिनिधिले प्रत्यक्ष सेवा लिनुले हेल्पडेस्कको आवश्यकता र उपयोगिता देखाएको छ। महाधिवेशनलाई केवल नेतृत्व चयन र चुनावी प्रतिस्पर्धाका रूपमा मात्र नभई सहभागी प्रतिनिधिको सुविधा, सहयोग र सेवाको अवसरका रूपमा पनि अघि बढाउनुपर्ने सन्देश यसले दिएको फाउन्डेसनको दाबी छ ।
व्यवसाय, सामाजिक सेवा र कांग्रेसको संगठनात्मक भूमिकामा सक्रिय अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा गण्डकी प्रदेशको खुला भूगोलबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।
युवा पुस्ताको सहभागिता, नयाँ सोच र सेवामुखी राजनीतिक संस्कारलाई प्राथमिकता दिँदै आएका अर्यालले राजनीतिक पदलाई व्यक्तिगत लाभभन्दा सामाजिक उत्तरदायित्व र सेवाको माध्यम बनाउनुपर्ने धारणा राख्दै आएका छन् ।
महाधिवेशनकै क्रममा प्रतिनिधिको आवश्यकतालाई सम्बोधन गर्न हेल्पडेस्क सञ्चालन गर्नुलाई उनको यही सेवामुखी राजनीतिक सोचको व्यवहारिक अभ्यासका रूपमा प्रस्तुत गरिएको छ।
चुनावी प्रचारसँगै प्रतिनिधिको सहजता र आवश्यकतालाई केन्द्रमा राखिएको यो पहलले राजनीतिक प्रतिस्पर्धाभन्दा बाहिर सेवा र जिम्मेवारीको संस्कारलाई पनि प्राथमिकता दिन सकिने सन्देश दिएको फाउन्डेसनको भनाइ छ।



















प्रतिक्रिया