गोरखा । चुमनुब्री गाउँपालिका–६ मा उग्युलुङ खोला थुनिएर अचानक बाढी आएपछि बुढीगण्डकी नदीमा पानीको बहाव बढेको छ।
आइतबार बिहान करिब ४ बजेदेखि उग्युलुङ र स्यार खोलामा ठूलो आवाजसहित पानी बग्न थालेपछि स्थानीय बासिन्दा तथा पर्यटक सुरक्षित स्थानतर्फ लागेका छन्।
चुमनुब्री गाउँपालिका–६ र ७ भएर बग्ने उग्युलुङ र स्यार खोलामा असामान्य रूपमा ठूलो आवाजसहित पानी बगेको स्थानीयले बताएका छन्। खोलामा पानीको बहाव बढेसँगै बुढीगण्डकी नदीको तटीय क्षेत्रका बासिन्दाले पनि घर छाडेर सुरक्षित स्थानतर्फ जान थालेका छन्।
लोक्पाका स्थानीय शेराप गुरुङका अनुसार आइतबार बिहान खोलामा केहीबेर पानी बग्न रोकिएजस्तो सुनिने र त्यसपछि पुनः ठूलो आवाजसहित बग्ने गरेको थियो।
‘अँध्यारो भएकाले खोला थुनिएको हो वा पहिरो खसेको हो भन्ने केही थाहा छैन। पानी पनि परेको छैन,’ गुरुङले भने।
उग्युलुङ र स्यार खोला बुढीगण्डकी नदीका सहायक खोला हुन्। यी खोलामा पानीको बहाव बढेपछि चुम्लिङ, लोक्पालगायत स्थानका बासिन्दा त्रसित भएका छन्। स्थानीयसँगै होटलमा बसिरहेका पर्यटकसमेत सुरक्षित स्थानतर्फ भागेका गुरुङले बताए।
यसैबीच, इलाका प्रहरी कार्यालय आरुघाटले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सावधानी अपनाउन सूचना जारी गरेको छ।
खोला थुनिनुको कारण र बाढीको अवस्थाबारे भने तत्काल स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन।




















प्रतिक्रिया