महोत्तरी । महोत्तरीको मटिहानीमा बडादशैँको पावन अवसरमा विश्व शान्ति, मानव कल्याण तथा धार्मिक सद्भाव प्रवद्र्धन गर्ने उद्देश्यले शान्ति कलश शोभा यात्रा निकालिएको छ ।

शोभा यात्रामा हजारौँको संख्यामा श्रद्धालु भक्तजन, स्थानीयवासी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो ।

उक्त अवसरमा मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले धार्मिक तथा सांस्कृतिक पर्वहरूले समाजमा आपसी एकता, मेलमिलाप र सहिष्णुताको भावना जागृत गर्ने विश्वास व्यक्त गरे । उनले यस्ता धार्मिक कार्यक्रमले समाजमा शान्ति, सद्भाव र भाइचाराको सम्बन्धलाई थप सुदृढ बनाउने बताए ।

आदर्श दुर्गा पूजा समिति, मटिहानीको आयोजनामा निकालिएको शोभायात्रा मटिहानीस्थित ऐतिहासिक दुर्गा मन्दिरको प्राङ्गणबाट शुभारम्भ भएको थियो ।

शोभायात्रा मटिहानीका मुख्य–मुख्य मार्ग हुँदै मधवापुर लगायतका क्षेत्रको परिक्रमा गरी मटिहानीस्थित लक्ष्मी सागरमा कलश भरेपछि पुनः दुर्गा मन्दिरको प्राङ्गणमा पुगेर सम्पन्न भएको थियो ।

शोभायात्राका क्रममा श्रद्धालु भक्तजनहरूले दुर्गा भवानीको जयजयकार गर्दै नगरको वातावरणलाई धार्मिक तथा आध्यात्मिक भावनाले गुन्जायमान बनाएका थिए । दुर्गा भवानीका नौवटा शक्तिपीठीय प्रतीकात्मक झाँकी, आकर्षक सजावट, बाजागाजा तथा विभिन्न धार्मिक समूहका प्रस्तुतिहरू शोभायात्राका प्रमुख आकर्षण बनेका थिए ।