काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नियामकबाट स्वीकृत प्याकेज तथा महसुल दरभन्दा बढी मूल्य लिने र स्वीकृतिबिनै इन्टरनेट प्याकेज परिवर्तन गर्ने सेवा प्रदायकलाई कारबाही गर्ने चेतावनी दिएको छ।
प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूबाट मूल्य बढाइएको गुनासो आएको भन्दै स्वीकृत महसुल दर र प्याकेजको विवरण सार्वजनिक गर्न तथा स्वीकृत व्यवस्थाअनुसार नै सेवा उपलब्ध गराउन निर्देशन दिएको हो।
प्राधिकरणका सहायक प्रवक्ता डा. प्रदीप पौड्यालले सूचनामार्फत सेवा प्रदायकहरूलाई दूरसञ्चार ऐन, २०५३ को दफा ४२ को व्यवस्था स्मरण गराएका छन्।
उक्त व्यवस्थाअनुसार प्राधिकरणबाट अनुमतिपत्र प्राप्त सेवा प्रदायकले ग्राहकलाई सेवा उपलब्ध गराएबापत लिने महसुल दर अनिवार्य रूपमा प्राधिकरणबाट स्वीकृत गराउनुपर्छ। स्वीकृत महसुल दरको विवरणसमेत सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्नुपर्ने व्यवस्था छ।
तर, पछिल्लो समय केही इन्टरनेट सेवा प्रदायकले स्वीकृत दर तथा प्याकेजको विवरण सार्वजनिक नगरेको र विगतमा उपलब्ध गराउँदै आएका प्याकेज नियामकको स्वीकृतिबिना परिवर्तन गरी मूल्य बढाएको गुनासो प्राधिकरणमा पुगेको छ। यसले उपभोक्ता थप मूल्य तिर्न बाध्य भएको भन्दै प्राधिकरणले त्यस्ता गतिविधि नगर्न सचेत गराएको हो।
प्राधिकरणले उपभोक्ताले आफ्नो इच्छाअनुसार इन्टरनेट प्याकेज छनोट गर्न पाउने अधिकार संरक्षण गर्न स्वीकृत सबै प्याकेज, तिनका शुल्क तथा सर्तको पूर्ण विवरण सम्बन्धित कम्पनीका वेबसाइट, मोबाइल एप र ग्राहक सेवा केन्द्रमा स्पष्ट तथा पारदर्शी रूपमा सार्वजनिक गर्न निर्देशन दिएको छ।
साथै, सार्वजनिक गरिएको विवरणअनुसार नै सेवा उपलब्ध गराउन प्राधिकरणले भनेको छ। निर्देशनविपरीत स्वीकृतिबिनै महसुल वा प्याकेज परिवर्तन गर्ने तथा स्वीकृत दरभन्दा बढी शुल्क लिने सेवा प्रदायकमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने प्राधिकरणले जनाएको छ।




















प्रतिक्रिया