काठमाडौं । बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ९५ जनालाई नेपाली सेनाले उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको छ। उद्धार गरिएकामध्ये नौ जना विदेशी नागरिकसहित ३५ जनालाई काठमाडौं ल्याइएको सेनाले जनाएको छ।
नेपाली सेनाका अनुसार २०८३ असोज २५ गते आएको बाढीपछि प्रभावित क्षेत्रमा एमआई–१७ सहित चारवटा हेलिकोप्टर र स्थलमार्गबाट खटिएको फौजले उद्धार कार्य गरेको हो।
सेनाका अनुसार जगतबाट १७, यारुबाट २२, ठूलोढुङ्गाबाट १३, दोभानबाट तीन, फिलिमबाट दुई, न्याक्फेदीबाट १७, पायुबाट १२, नामरुङबाट तीन, देङ्गबाट तीन र धौलीबाट तीन जनाको उद्धार गरिएको छ।
उद्धार गरिएकामध्ये ३५ जनालाई आरुघाटबाट काठमाडौं ल्याइएको हो। बाढी प्रभावित क्षेत्रमा अन्य सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालासँग समन्वय गरेर खोज तथा उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ।
यसैबीच, बाढीले बगाएको आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलको विकल्पमा बेलिब्रिज जडान गर्ने तयारी थालिएको छ। त्यसका लागि नेपाली सेनाको इन्जिनियरिङ टोली खटिएको सेनाले जनाएको छ।




















प्रतिक्रिया