काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमलाई आमनागरिकले सहजै बुझ्न सक्ने गरी ‘नागरिक बजेट’ सार्वजनिक गरेको छ ।
अर्थ मन्त्रालयले ‘हाम्रो कर, हाम्रै बजेट, हाम्रै भविष्य’ भन्ने नाराका साथ आफ्नो वेबसाइटमार्फत यो पुस्तिका सार्वजनिक गरेको हो । यो कुनै नयाँ बजेट नभई जेठ १५ मा प्रस्तुत चालु आवकै बजेटलाई सर्वसाधारणका लागि सरल रूपमा तयार पारिएको दस्ताबेज हो ।
राज्यको खर्च र विनियोजन प्रक्रियालाई पारदर्शी तथा जवाफदेही बनाउने उद्देश्यले यो पुस्तिका ल्याइएको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताएका छन् । अर्थमन्त्री डा. वाग्लेले बजेटका प्राथमिकता, कारका प्रावधान र विकासका लक्ष्यलाई सर्वसाधारणले सहजै बुझ्ने भाषामा समेटेर नागरिक बजेट सार्वजनिक गरेको उल्लेख गरेका छन् । ‘नेपाल सरकारको आर्थिक वर्ष ०८३/८४ को वार्षिक बजेट तथा कार्यक्रमलाई सरल रूपमा आमनागरिकसमक्ष पुर्याउने उद्देश्यले यो नागरिक बजेटपुस्तिका तयार भएको छ,’ उनले नागरिक बजेटमा दिएको मन्तव्यमा उल्लेख छ, ‘राज्यको स्रोत–साधनको विनियोजन र खर्च प्रक्रियामा पारदर्शिता, सुशासन र जवाफदेहिता सुनिश्चित गर्नु सरकारको दायित्व हो ।’
‘नागरिक बजेट’ मा बजेट निर्माणका छ वटा चरण, तिनको जिम्मेवारी र समयसीमा प्रस्ट पारिएको छ । यसमा सुशासन, नीतिगत सुधार र सेवा प्रवाहसहित बजेटका मुख्य विशेषता, आर्थिक लक्ष्य, सार्वजनिक ऋण र आम्दानीका स्रोतहरू समेटिएका छन् ।
त्यस्तै, व्यक्तिगत आयकरको छुट सीमा बढाइएको, कच्चा पदार्थको भन्सार घटाइएको र ६० प्रकारका वस्तुमा लाग्ने अन्तःशुल्क हटाइएको विषयलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ ।
पुस्तिकामा वित्तीय सङ्घीयता, तीन तहका सरकारबिचको राजस्व बाँडफाँट र मन्त्रालयगत खर्चको विवरण पनि दिइएको छ । बजेटलाई लैङ्गिक, जलवायु र पूर्वाधार विकासका आयामबाट विश्लेषण गर्दै सामाजिक सुरक्षाको व्यवस्थाबारे जानकारी दिइएको छ । साथै, ‘कसले के पाउँछन्’ शीर्षक अन्तर्गत किसान, विद्यार्थी, महिला, ज्येष्ठ नागरिक, श्रमिक र उद्यमीका लागि गरिएका व्यवस्थाहरू बुँदागत रूपमा राखिएका छन् ।




















प्रतिक्रिया