काठमाडौं । ४० जना वृद्धबृद्धाको पालनपोषणामा सक्रिय नवजीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहालले ग्यास अभावले संस्था चलाउन कठिनाइ भएको बताएका छन् ।
सोमबार सामाजिक संजालमा आफ्नो समस्या र पीडा व्यक्त गर्दै ४० जना बुबाआमाको चुलो बाल्नुपर्ने जिम्मेवारी पूरा गर्न कठिन भइरहेको र उहाँहरूको भोक र पीडालाई बेवास्ता गर्न नसकिने बताएका हुन् ।
‘सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण होस्’ भन्दै उनले अगाडि लेखेका छन्,‘
नवजीवन परोपकार समाजको आश्रममा ४० जना बुबाआमाहरूको परिवार छ। दसैँजस्तो महान् चाड नजिकिँदै गर्दा आश्रममा खाना पकाउने ग्याससमेत उपलब्ध छैन। खुट्टामा भाँचिएर आफु हिँडडुल गर्न नसकिरहेको अवस्थामा ग्यास खोज्न कहाँ जाऊँ ? कसरी ४० जना बुबाआमाको चुलो बालूँ ?
यदि ग्यासको वास्तविक अभाव हो भने सरकारले तत्काल वैकल्पिक व्यवस्था गरी जनतालाई जानकारी गराओस्। यदि कृत्रिम अभाव सिर्जना गरिएको हो भने कालोबजारी गर्ने र कृत्रिम अभाव गराई २ हजार ५०० देखि तीन हजार रुपैयाँसम्ममा ग्यास बेच्न खोज्नेहरूलाई तत्काल छानबिन गरी कानुनबमोजिम कडा कारबाही गरियोस्।’
दसैको मुखमा सर्वसाधारणलाई दुःख दिने र कालोबजारी गर्ने छुट कसैलाई नभएको उल्लेख गर्दै उनले लेखेका छन्,‘दसैँको मुखमा सर्वसाधारणलाई दुःख दिएर कालोबजारी गर्ने छुट कसैलाई छैन। विशेषगरी ज्येष्ठ नागरिक, असहाय तथा बेसहारा व्यक्तिहरू आश्रित आश्रमहरूमा खाना पकाउने ग्यासको सहज उपलब्धता सुनिश्चित गर्न सरकारको तत्काल ध्यान जाओस्।’
अध्यक्ष दाहालले ग्यास अभावको वास्तविक अवस्था सार्वजनिक गनै पनि माग गरेका छन् ।
‘सरकारले वास्तविक अवस्था स्पष्ट पारोस्, आवश्यक परे वैकल्पिक व्यवस्था गरोस् र कृत्रिम अभाव तथा कालोबजारी नियन्त्रणमा प्रभावकारी कदम चालोस्।
४० जना बुबाआमाको चुलो बाल्नुपर्ने जिम्मेवारी मेरो काँधमा छ। उहाँहरूको भोक र पीडालाई कसरी बेवास्ता गरूँ ? सम्बन्धित निकायलाई विनम्र तर दृढ आग्रह छ—तत्काल समस्या समाधान गरियोस्,’ उनले लेखेका छन् ।




















प्रतिक्रिया