Logo

अर्थ

नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा सीमित हुने आईएमएफको प्रक्षेपण



काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ। आज आईएमएफले सार्वजनिक गरेको विश्व आर्थिक परिदृश्य प्रतिवेदनअनुसार नेपालको अर्थतन्त्र सन् २०२७ मा ३.७ प्रतिशतले विस्तार हुनेछ। सन् २०२५ मा नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत रहेको अनुमान छ।

प्रक्षेपणअनुसार नेपालको आर्थिक वृद्धिदर आगामी दुई वर्षमा ४ प्रतिशतभन्दा तल रहनेछ। यद्यपि सन् २०२६ को तुलनामा सन् २०२७ मा वृद्धिदर सामान्य सुधार हुने अनुमान गरिएको छ।

आर्थिक वृद्धिदर सुस्त रहने प्रक्षेपणसँगै आगामी वर्ष नेपालमा महँगी बढ्ने आईएमएफको आकलन छ। सन् २०२५ मा ४.१ प्रतिशत रहेको उपभोक्ता मुद्रास्फीति सन् २०२६ मा घटेर ३.१ प्रतिशतमा झर्ने र सन् २०२७ मा बढेर ५.८ प्रतिशत पुग्ने अनुमान गरिएको छ।

आईएमएफका अनुसार सन् २०२६ मा विश्व अर्थतन्त्रको वृद्धिदर ३.१ प्रतिशत रहनेछ। यो अघिल्लो वर्षको ३.५ प्रतिशत वृद्धिभन्दा कम हो। सन् २०२७ मा भने विश्व आर्थिक वृद्धि ३.४ प्रतिशत पुग्ने अनुमान गरिएको छ।

प्रतिवेदनले विश्व अर्थतन्त्रमा एकातिर मध्यपूर्वको द्वन्द्वले ऊर्जा बजारमा अनिश्चितता बढाएको र अर्कोतिर कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिसम्बन्धी लगानीले आर्थिक गतिविधिलाई समर्थन गरिरहेको उल्लेख गरेको छ।

मध्यपूर्वमा जारी युद्धका कारण कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेको छ। तेलको मूल्यमा आएको वृद्धिले ऊर्जा आपूर्ति, उत्पादन खर्च र समग्र मूल्यवृद्धिमा दबाब सिर्जना गरेको छ। यस्तो अवस्थामा एआई पूर्वाधारमा भइरहेको ठूलो लगानीले विश्व अर्थतन्त्रमा पर्न सक्ने नकारात्मक प्रभावलाई केही कम गर्न मद्दत गरिरहेको आईएमएफको विश्लेषण छ।

थाइल्यान्डको बैंककमा आयोजित आईएमएफ र विश्व बैंकको वार्षिक बैठकका क्रममा सार्वजनिक प्रतिवेदनले एआई प्रविधिको विकास र त्यसका लागि आवश्यक उपकरण तथा सामग्री उत्पादन गर्ने मुलुकहरूले यस क्षेत्रमा भइरहेको लगानीबाट बढी लाभ लिन सक्ने संकेत गरेको छ।

आईएमएफले अमेरिकाको अर्थतन्त्र सन् २०२६ र २०२७ मा समान रूपमा २.३ प्रतिशतले विस्तार हुने अनुमान गरेको छ। अमेरिकी उपभोक्ताको खर्च, कर कटौतीबाट प्राप्त हुन सक्ने लाभ तथा एआई प्रविधिमा बढ्दो लगानीलाई आर्थिक वृद्धिका प्रमुख आधारका रूपमा हेरिएको छ।

युरोजोनको आर्थिक वृद्धिको अनुमान पनि सुधारिएको छ । सन् २०२६ का लागि यस क्षेत्रको आर्थिक वृद्धिदर १.१ प्रतिशत अनुमान गरिएको छ। यसअघि जुलाईमा सार्वजनिक प्रक्षेपणमा यो दर ०.९ प्रतिशत रहने बताइएको थियो।

एआईमा बढ्दो पुँजीगत खर्च, औद्योगिक आपूर्ति सञ्जालमा युरोपेली मुलुकहरूको सहभागिता र रक्षा क्षेत्रमा बढिरहेको खर्चले आर्थिक गतिविधिलाई गति दिन सक्ने आईएमएफको आकलन छ। बेलायतको आर्थिक वृद्धिको अनुमानसमेत बढाएर १.३ प्रतिशत पुर्‍याइएको छ।

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलवार १३:३३   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।