काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को भदौसम्म बीमा कम्पनीहरुले १३ अर्ब ६८ करोड रुपैयाँ बढी दाबी भुक्तानी गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको भदौसम्म १३ अर्ब ६८ करोड ६० लाख रुपैयाँ दाबी भुक्तानी गरेका हुन् । जीवन बीमकहरुले ९ अर्ब ६९ करोड ५६ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् । यो भुक्तानी ४९ हजार ७७३ वटा दाबीको हो ।
अघिल्लो आर्थिक वर्ष यस्तो दाबी ४३ हजार ३६३ वटाको ८ अर्ब २६ करोड ८९ लाख थियो। अघिल्लो वर्षको तुलनामा चालू वर्षको भदौसम्म दाबी भुक्तानी संख्या र रकममा १४.७८ प्रतिशत र १७.२५ प्रतिशतले वृद्धि भएको प्राधिकरणले जनाएको छ।
चालू वर्षको भदौसम्म भुक्तानी हुन बाँकी दाबी संख्या १ लाख २१ हजार ६४४ पुगेको छ भने ती दाबीको भुक्तानी हुन बाँकी रकम ९ अर्ब ७१ करोड ९० लाख रुपैयाँ छ। अघिल्लो वर्ष भदौसम्म ५६ हजार ५९७ वटा दाबीको ४ अर्ब ७५ करोड ८३ लाख भुक्तानी बाँकी थियो।
यसैगरी निर्जीवन बिमा कम्पनीले चालू वर्षको भदौसम्म ३ अर्ब ९९ करोड ४ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन्। यो भुक्तानी २३ हजार ८३९ वटा दाबीको हो। अघिल्लो वर्ष भदौसम्म २२ हजार ३८२ वटा दाबीको ३ अर्ब २५ करोड ३८ लाख भुक्तानी गरेका थिए। चालू वर्षको साउनसम्म भुक्तानी हुन बाँकी दाबी संख्या १ लाख ५ हजार ४४९ पुगेको छ भने ती दाबीको भुक्तानी हुन बाँकी रकम ४० अर्ब ९५ करोड ३० लाख रुपैयाँ रहेको छ।
अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा निर्जीवन बिमा कम्पनीको भुक्तानी हुन बाँकी दाबी संख्या र रकम क्रमशः ८.०६ प्रतिशत र ४०.०६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष १ लाख ५ हजार ४९९ वटा दाबीको ४० अर्ब ९५ करोड ३० लाख भुक्तानी बाँकी थियो।




















प्रतिक्रिया