काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको पुनर्स्थापना तथा पुनर्निर्माणका लागि मलेसिया सरकारले नेपाललाई १० लाख अमेरिकी डलर सहयोग गरेको छ।
मलेसियाली विदेशमन्त्री दातो सेरी उतामा हाजी मोहम्मद बिन हाजी हसनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्। उक्त चेक कार्यवाहक प्रमुख मुदिता बज्राचार्यले ग्रहण गरेकी छन्।
मलेसियाली दूतावासका अनुसार भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा नेपाल सरकारले अघि बढाइरहेको पुनर्स्थापना तथा पुनर्निर्माणका प्रयासमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम उपलब्ध गराइएको हो। सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत परिचालन गरिनेछ।
चेक हस्तान्तरणका क्रममा विदेशमन्त्री हसनले बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकका परिवार तथा बाढीबाट प्रभावित नेपालीप्रति समवेदना प्रकट गरेका थिए।
त्यस अवसरमा कार्यवाहक प्रमुख बज्राचार्यले विपद्पछिको पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग गरेकोमा मलेसिया सरकारप्रति आभार व्यक्त गरिन्। उनले विपद्का बेला नेपाली जनताप्रति मलेसियाले देखाएको ऐक्यबद्धताको प्रशंसा पनि गरिन्।




















प्रतिक्रिया