Logo

अर्थ

दोस्रो बजारमा सेयर खरिद ऋण सुविधा दिने ब्रोकर कम्पनीको संख्या २० पुग्यो



 

काठमाडौं । दोस्रो बजारमा सेयर खरिद गर्न लगानीकर्तालाई ऋण सुविधा उपलब्ध गराउने ब्रोकर कम्पनीको संख्या २० पुगेको छ।

नेपाल धितोपत्र बोर्ड सेबोन ले मार्जिन कारोबारसम्बन्धी निर्देशिका कार्यान्वयनमा ल्याएसँगै ब्रोकर कम्पनीहरूले ग्राहकलाई ट्रेड म्यानेजमेन्ट सिस्टम टीएमएस मार्फत नै मार्जिन कर्जा उपलब्ध गराउन थालेका हुन्।

ब्रोकर कम्पनीहरूले वाणिज्य बैंकबाट थोक कर्जा लिएर तथा आफ्नै आन्तरिक पुँजी परिचालन गरी लगानीकर्तालाई सेयर खरिदका लागि ऋण दिन थालेका छन्।

हाल सञ्चालनमा रहेका २० वटा ब्रोकर कम्पनीको वित्तीय स्रोत, बैंक कर्जा रेटिङ तथा आन्तरिक पुँजी क्षमताका आधारमा विश्लेषण गर्दा उनीहरूमार्फत दोस्रो बजारमा प्रवाह हुन सक्ने सम्भावित मार्जिन कर्जाको आकार करिब २३ अर्ब रुपैयाँ पुगेको देखिन्छ।

नेपाल स्टक एक्सचेन्ज नेप्से बाट औपचारिक स्वीकृति पाएपछि ब्रोकर कम्पनीहरूले मार्जिन कारोबार सेवा सञ्चालनमा ल्याएका हुन्। यस सुविधाले लगानीकर्तालाई आफूसँग उपलब्ध पुँजीभन्दा बढी रकमको सेयर खरिद गर्न सहज बनाउनेछ।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाबाट ५० करोड रुपैयाँ वा सोभन्दा बढी कर्जा लिँदा अनिवार्य रूपमा क्रेडिट रेटिङ गराउनुपर्छ। सोही व्यवस्थाअनुसार हालसम्म १४ वटा ब्रोकर कम्पनीले केयर रेटिङ नेपालमार्फत १ अर्बदेखि ३ अर्ब रुपैयाँसम्मको कर्जा सीमा रेटिङ गराएका छन्।

नेप्सेको सूचीमा रहेका बाँकी ६ वटा ब्रोकर कम्पनीले भने हालसम्म आफ्नो आधिकारिक क्रेडिट रेटिङ प्रतिवेदन सार्वजनिक गरेका छैनन्।

ब्रोकर कम्पनीहरूको बढ्दो कर्जा क्षमता र मार्जिन कारोबार सेवाको विस्तारले दोस्रो बजारमा लगानीकर्ताको पहुँच तथा कारोबार क्षमतामा थप वृद्धि हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार ०७:५२   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।