Logo

खेलकुद

मिलरको विष्फोटक इनिङ् काम लागेन, अन्तिम ओभरका ४ छक्काले पनि कर्णालीको हार टारेन 



काठमाडाैं । डेभिड मिलरले अविजित ९३ रन बनाए पनि एनपीएल क्रिकेटमा कर्णाली याक्स पराजित भएको छ । कर्णाली छिमेकी टोली सुदूरपश्चिम रोयल्ससँग ३९ रनले पराजित भएको हो ।

कर्णालीका लागि डेभिड मिलरले ५५ बलमा ५ चौका र ७ छक्कासहित अविजित ९३ रन बनाए पनि अन्य कुनै ब्याटरको साथ नपाउँदा कर्णालीलाई जिताउन सकेनन् । उनले अन्तिम ओभरमा ४ छक्का प्रहार गरेका थिए ।

१७७ रनको लक्ष्य पट्याएको कर्णालीले २० ओभरमा ७ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो । कर्णालीका दीपक डुम्रेले १८ रन बनाउनुबाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् । दक्षिण अफ्रिकाका विष्फोटक ब्याटर मिलरले आज कर्णालीका लागि पहिलो खेल खेलेका हुन् ।

सुदूरपश्चिमका लागि स्कट कुग्लिजेनले दुई तथा अविनाश बोहोरा, दीपक खरेल, दीपेन्द्रसिंह ऐरी, हेमन्त धामी र थरिन्दु रत्नायकेले एक एक विकेट लिए ।

टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो । सुदूरपश्चिमका ओपनर सैफ अली जैबले सर्वाधिक ३५ रन बनाए । यस्तैविनोद भण्डारीले २७, ब्राण्डन म्याकमुलेनले २४ र इशान पाण्डेले २३ रन बनाए । यस्तै, थरिन्द्र रत्नायकेले अविजित २२ रन बनाए भने आरिफ शेखले ११ र कप्तान दीपेन्द्रसिंह ऐरी १० रनको योगदान गरे ।

कर्णालीका लागि मार्क वाटले २ तथा नन्दन यादव, हुसेन तलत र सुर्य तामाङले १–१ विकेट लिएका थिए ।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार १६:२६   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।