नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको तेस्रो सिजनको लिग चरणको अन्तिम खेल प्ले अफको सम्भावना सकिइसकेको पोखरा एभेन्जर्स र प्ले अफमा पुगिसकेको काठमान्डु गोर्खाजको खेल भएको थियो ।
कमजोर खेलेर तालिकाको पुछारमा रहेको टोलीले उच्च प्रदर्शन गर्दै काठमान्डुलाई हायलकायल बनायो ।
पहिलले ब्याटिड गरेको पोखराले पहिलो इनिङ्समै चार नयाँ कीर्तिमान बनाएको छ ।
पोखराका कप्तान कुशल भुर्तेलका लागि भने उनको प्रदर्शन चुक चुक गराउने खालको भयो । उनी ९९ रनमा आउट भए । यस्तै अर्का विष्फोटक ब्याटर युवराज सिंह साम्रा ८९ रनमा आउट भए ।
एनपीएलकै उच्च योगफल
पोखराका ओपनर युवराज सिंह सम्रा र कप्तान तथा मार्की प्लेअर कुशल भुर्तेलले विष्फोटक ब्याटिङ गर्दै २२४ रनको स्कोर बनाए ।
जुन एनपीएल इतिहासकै सबैभन्दा ठूलो योगफल हो । गत बर्षको संस्करणमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सविरुद्ध २२० रन बनाएको थियो । पोखराले आफुविरुद्ध बनाएको ठुलो योगफलको कीर्तिमान आफुले काठमान्डुविरुद्ध उच्च रन बनाउँदै तोडेको हो ।
उच्च साझेदारी पोखराको नाममा
साम्रा र भुर्तेलले आज काठमान्डुविरुद्ध कीर्तिमानी साझेदारी पनि गरे । पोरखाको स्कोर १७ हुँदा ओपनरअर्जुन कुमाल आउट भएपछि क्रिजमा आएका भुर्तेल र साम्राले आक्रमक ब्याटिङ गदैै यो जोडीले दोस्रो विकेटका लागि १८६ रनको साझेदारी गरे जुन एनपीएलको अहिलेसम्मको ठुलो साझेदारी हो ।
यसअघिपोखराका आन्द्रे गौस र दिनेश खरेलले लुम्बिनी लायन्सविरुद्ध पहिलो संस्करणमा पहिलो विकेटका लागि १७६ रनको साझेदारी गरेका थिए ।
एनपीएलमा तीन पटक २०० रन प्रहार गर्ने पहिलो टिम पोखरा
पोखरा एभेन्जर्स एनपीएलको कुनै पनि सिजनको प्ले अफमा पुग्न सकेको छैन । तर पोखराले ३ पटक २ सय रन पूरा गर्दै कीर्तिमान बनाएको छ । एनपीएलका कुनै पनि टोलीले अहिलेसम्म ३ पटक २ सय रन पूरा गर्न सकेका छैनन् ।
पोखराले दोस्रो संस्करणमा कर्णालीविरुद्ध २०१ रन बनाएको थियो । जारी प्रतियोगिता मै कर्णाली विरुद्ध २१७ रन बनाएको पोखराले आज काठमान्डुविरुद्ध २२४ रन बनाएको हो ।
एनपीएलमा नेपाली खेलाडीको उच्च स्कोर कुशलको नाममा
एनपीएलमा नेपाली खेलाडीले शतक प्रहार गर्न सकेका छैन् । पोखराका कप्तान कुशल भुर्तेलले आज नेपाली खेलाडीको शतकमा आफ्नो नाम लेखाउनेछन् भन्ने धेरैलाई लागेको थियो तर उनी ९९ रनमा आउट भए ।
शतक बनाउन नसके पनि कुशल अहिलेसम्म एनपीएलमा धेरै रन बनाउने नेपाली खेलाडी बनेका छन् । यसअघि लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले पोखरा विरुद्ध नै ९५ रन बनाएका थिए । कुशलले पोखरालाई प्ले अफमा पुर्याउन नसकेपनि धेरै कीर्तिमान भने पोखराको नाममा बनेको छ ।
बाउन्ड्रीबाट सर्वाधिक रन पोखराको नाममा
पोखराले आजको खेलमा बाउन्ड्रीबाट सर्वाधिक रन जोड्ने कीर्तिमान पनि बनाएको छ । पोखराले काठमान्डुविरुद्ध कुल १५ छक्का र १८ चौका प्रहार गर्दै यो कीर्तिमान राखेको हो । छक्काबाट ९० र चौकाबाट ७२ रन गर्दै बाउन्ड्रीबाट कूल १६२ रन जोडेको हो ।





















प्रतिक्रिया