Logo

Technology

प्रयोगकर्ताको तस्बिरमा पहुँच गरेको भन्दै मेटालाई ८० करोड युरो जरिवाना



काठमाडौं । इटालीको तथ्यांक संरक्षणसम्बन्धी नियामक निकायले प्रयोगकर्ताको स्पष्ट अनुमति र पर्याप्त जानकारीबिना तस्बिर तथा भिडियोमा पहुँच गरेको भन्दै सामाजिक सञ्जाल कम्पनी मेटालाई ८० करोड ५० लाख युरो जरिवाना गरेको छ।

इटालीको तथ्यांक संरक्षण प्राधिकरणका अनुसार फेसबुकको एउटा सुविधामार्फत करिब २ करोड एन्ड्रोइड प्रयोगकर्ताका स्मार्टफोनमा रहेका तस्बिर तथा भिडियोमा पहुँच पुर्‍याइएको थियो। तर, उक्त सुविधाले कसरी काम गर्छ र प्रयोगकर्ताका सामग्री कसरी प्रयोग हुन्छन् भन्नेबारे पर्याप्त जानकारी दिइएको थिएन।

प्राधिकरणले मेटालाई आगामी ६० दिनभित्र उक्त सुविधा स्वतः निष्क्रिय हुने व्यवस्था गर्न र प्रयोगकर्ताबाट छुट्टै तथा स्पष्ट अनुमति लिन निर्देशनसमेत दिएको छ।

विवाद फेसबुकको फोटो तथा भिडियो पोस्ट गर्न सुझाव दिने सुविधासँग सम्बन्धित छ। उक्त सुविधाले प्रयोगकर्ताको मोबाइल ग्यालरीमा रहेका तस्बिर तथा भिडियोका आधारमा फेसबुकमा पोस्ट गर्न मिल्ने सामग्री सुझाउने गर्छ। यसका लागि फेसबुकले एप सञ्चालनका क्रममा मागिने अनुमतिमार्फत मोबाइलको फोटो ग्यालरीमा पहुँच प्राप्त गर्दै आएको थियो।

तर, अनुमति माग्दा देखाइने सूचनामा प्रयोगकर्ताको ग्यालरीमा रहेका तस्बिरका आधारमा पोस्टका सुझावसमेत तयार पारिने विषय स्पष्ट रूपमा उल्लेख नगरिएको नियामक निकायको ठहर छ।

जरिवाना निर्धारण गर्दा प्राधिकरणले ठूलो संख्यामा प्रयोगकर्ता प्रभावित भएको, एप अद्यावधिक नगरेका तथा यसअघि नै अनुमति दिइसकेका प्रयोगकर्ताका हकमा समेत सुविधा निरन्तर सञ्चालनमा रहेको र अनुसन्धानका क्रममा मेटाले पर्याप्त सहयोग नगरेको विषयलाई आधार बनाएको छ।

यता मेटाले भने नियामक निकायको निर्णयप्रति असहमति जनाएको छ। कम्पनीले तथ्यांकसम्बन्धी मूल्यांकन, कानुनी व्याख्या र जरिवानाको रकम उचित नभएको भन्दै निर्णयविरुद्ध पुनरावेदन गर्ने जनाएको छ।

मेटाका अनुसार उक्त सुविधा प्रयोगकर्तालाई फेसबुकमा तस्बिर तथा भिडियो पोस्ट गर्न सहयोग पुर्‍याउने सामान्य सुविधा हो। यो प्रयोगकर्ताले आफ्नो उपकरणमा अनुमति दिएपछि मात्रै सञ्चालन हुने र चाहेको समयमा मोबाइलको सेटिङमार्फत अनुमति परिवर्तन गर्न सकिने कम्पनीको दाबी छ।

यसअघि गत महिना पनि मेटाले आफ्नो व्यावसायिक गतिविधिसम्बन्धी अर्को मुद्दामा ठूलो जरिवाना खेपेको थियो। अमेरिकाको न्यु मेक्सिको राज्यका एक न्यायाधीशले फेसबुक प्रयोगकर्ताको तथ्यांक व्यवस्थापनबारे वर्षौंदेखि सर्वसाधारणलाई गलत जानकारी दिएको ठहर गर्दै कम्पनीलाई २५ अर्ब अमेरिकी डलर जरिवाना तिर्न आदेश दिएका थिए।

प्रकाशित मिति : २९ कार्तिक २०८३, आईतवार २०:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।