Logo

अर्थ

हिमालयन रि–इन्स्योरेन्सको नाफा ५८ प्रतिशत घट्यो, तीन महिनामा १० करोडमा सीमित



काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स कम्पनीको खुद नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५७ प्रतिशतभन्दा बढीले घटेको छ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार असोज मसान्तसम्म १० करोड ३६ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २४ करोड ५८ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। यसअनुसार समीक्षा अवधिमा कम्पनीको नाफा ५७.८२ प्रतिशतले घटेको हो।

कम्पनीको वित्तीय विवरणअनुसार खुद आर्जित बीमाशुल्क र कुल आम्दानीमा आएको गिरावटले नाफामा दबाब परेको देखिन्छ। गत वर्षको असोजसम्म १ अर्ब १ करोड १० लाख ९ हजार रुपैयाँ रहेको खुद आर्जित बीमाशुल्क चालु वर्षको सोही अवधिमा घटेर ५९ करोड १ लाख ९७ हजार रुपैयाँमा सीमित भएको छ।

त्यस्तै, कम्पनीको कुल आम्दानी पनि १ अर्ब २४ करोड ७२ लाख ४७ हजार रुपैयाँबाट घटेर ७९ करोड ६० लाख ६९ हजार रुपैयाँमा झरेको छ। यसमा ३६.१७ प्रतिशतको गिरावट आएको हो।

आम्दानीसँगै कम्पनीको खर्च पनि घटेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ९१ करोड ३ लाख ५३ हजार रुपैयाँ रहेको कुल खर्च चालु वर्षको सोही अवधिमा ६५ करोड ५९ लाख ६१ हजार रुपैयाँमा सीमित भएको छ। कमिसन खर्चसमेत २३ करोड ९ लाख ६९ हजार रुपैयाँबाट घटेर १२ करोड २७ लाख ४० हजार रुपैयाँमा झरेको छ।

दाबी भुक्तानीमा पनि उल्लेख्य कमी आएको छ। कम्पनीले गत आर्थिक वर्षको पहिलो तीन महिनामा ५४ करोड ३० लाख ९४ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेकोमा चालु वर्षको असोजसम्म २० करोड २२ लाख ३९ हजार रुपैयाँ भुक्तानी गरेको छ।

नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि प्रभावित भएको छ। अघिल्लो वर्ष ९ रुपैयाँ ५ पैसा रहेको प्रतिसेयर आम्दानी घटेर ३ रुपैयाँ ८२ पैसामा झरेको छ।

कम्पनीको चुक्ता पुँजी १० अर्ब ८६ करोड ८० लाख रुपैयाँ रहेको छ। यस्तै, विपत्ति कोषमा १४ करोड ४४ लाख १५ हजार रुपैयाँ र बीमा कोषमा ८३ करोड ४६ लाख ८६ हजार रुपैयाँ सञ्चित रहेको वित्तीय विवरणमा उल्लेख छ।

कम्पनीले जेनजी आन्दोलनबाट सिर्जित आर्थिक दबाब र त्यसबाट बीमा क्षेत्रमा परेको प्रभाव पूर्ण रूपमा सामान्य हुन नपाउँदै रसुवामा आएको बाढीले थप चुनौती सिर्जना गरेको जनाएको छ। यस्ता प्रतिकूल परिस्थितिका बाबजुद कम्पनीले खुद नाफा भने सकारात्मक राख्न सफल भएको उल्लेख गरेको छ।

प्रकाशित मिति : ३० कार्तिक २०८३, सोमबार ०९:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।