काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाका संस्थापक तथा पूर्वअध्यक्ष डा.मित्र काफ्लेले विदेशमा रहेका वंशजका नेपाली नागरिकलाई पुरानै नागरिकताको निरन्तरता दिए नेपालमा लगानी उल्लेख्य रूपमा बढ्ने बताएका छन् ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले विदेशमा रहेका नेपालीलाई मतदान, राजनीतिक सहभागिता र लगानीको अवसर दिनुपर्ने बताए । प्रविधिको विकाससँगै विदेशमा रहेका वंशजका नेपाली नागरिकलाई अनलाइन मतदानको व्यवस्था गर्न सकिने उनको भनाइ छ ।
उनले भने, ‘प्रविधिले एकदमै सजिलो बनाएको छ । राम्रा सफ्टवेयर र प्रविधिहरू आइरहेका छन् । पहिला वंशजको आधारमा मतदाताको सूची तयार गर्ने, कुन–कुन देशमा कति नेपाली छन् भन्ने तथ्यांक संकलन गर्ने र त्यसपछि अनलाइन भोटिङ सिस्टम राखेर विदेशमा बसेका वंशजका नागरिकलाई मतदाता सूचीमा समावेश गर्ने हो भने देशलाई ठूलो सहयोग पुग्छ।’
डा.काफ्लेले नेपालीलाई नेपाल फर्केर काम गर्ने,व्यवसाय र राजनीतिमा सहभागी हुने अवसर दिनुपर्ने बताए ।
उनले भने,‘जति धेरै बाहिरबाट प्रतिस्पर्धा, विशेषज्ञता र जनशक्ति नेपालका वंशजका नागरिकबाट आउँछ, त्यति नै देशलाई फाइदा हुन्छ । उहाँहरूलाई चुनाव लड्न पनि दिए के फरक पर्छ, सबै अधिकार दिए के फरक पर्छ ? उहाँहरूले देशमा लगानी गर्ने हो, आफ्नो विशेषज्ञता ल्याएर कार्यान्वयन गर्ने हो। त्यसले देशलाई घाटा होइन, सहयोग नै हुन्छ ।’
उनले प्रधानमन्त्री, सेना प्रमुख, प्रहरी प्रमुख, मुख्यमन्त्रीलगायतका केही संवेदनशील तथा उच्च पदमा भने आवश्यक सर्त राख्न सकिने उल्लेख गरे । तर अन्य क्षेत्रमा विदेशमा रहेका नेपालीलाई अधिकार दिनुपर्ने उनको धारणा छ ।
नागरिकताको विषयमा आफ्नो मुख्य माग पुरानै वंशजको नागरिकतालाई निरन्तरता दिनुपर्ने रहेको उनले बताए । उनका अनुसार परराष्ट्र, गृह तथा सम्बन्धित मन्त्रालयले परिपत्र जारी गरेर विदेशको नागरिकता लिएका कारण रोकिएको पुरानो वंशजको नागरिकतालाई पुनः निरन्तरता दिन सकिन्छ ।
डा. काफ्लेले विदेशमा रहेका नेपालीको लगानी भित्र्याउन एनआरएनए कार्ड र लगानीका लागि दिइने सीमित सुविधाभन्दा वंशजको नागरिकताको निरन्तरता बढी प्रभावकारी हुने दाबी गरे । नागरिकताको निरन्तरता भए हाल एनआरएनएले गरेको प्रतिबद्धताभन्दा पाँचदेखि १० गुणासम्म बढी लगानी नेपालमा आउन सक्ने उनको भनाइ छ ।
उनले भने, ‘एनआरएनए कार्ड मात्रैले लगानी एकदमै कम प्रतिशतमा मात्रै आउन सक्छ। तर वंशजको नागरिकता निरन्तरता भयो भने एनआरएनएले अहिले जति कमिटमेन्ट गरेको छ, त्यसको पाँच गुणा, १० गुणा बढी लगानी आउँछ।’
उनले क्यानडालगायत विभिन्न देशमा रहेका नेपाली अवकाशपछि नेपाल फर्केर बस्न, पेन्सनको रकम नेपालमै खर्च गर्न र उद्योगधन्दा तथा व्यवसाय सञ्चालन गर्न सक्ने बताए ।
उनले भने, ‘म जस्तो एउटा सामान्य व्यक्तिले रिटायर हुँदा क्यानडाबाट महिनाको आठदेखि १२ हजार डलरसम्म पेन्सन पाउछ । वंशजको नागरिकता निरन्तरता भयो भने पेन्सन यही देशमा आउँछ, यहीँ भ्याकेसन होम खोलिन्छ, उद्योगधन्दा र कलकारखाना खोलिन्छ । पाँच लाख मान्छे रिटायर हुँदा यो देशको अर्थतन्त्र पाँच गुणा, १० गुणा बढी बुस्ट हुनसक्छ ।’
क्यानडाको स्वास्थ्य प्रणालीको उदाहरण दिँदै उनले त्यहाँको स्वास्थ्य सेवा प्रणाली र सीपलाई नेपालमा लागू गर्न सके गरिब नागरिकले समेत निःशुल्क औषधि उपचार पाउने वातावरण बनाउन सकिने बताए ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनअघि विदेशमा रहेका वंशजका नेपालीको नागरिकता निरन्तरतासम्बन्धी प्रतिबद्धता जनाएको पनि बताए । उक्त प्रतिबद्धताका आधारमा आफूहरूले पार्टीलाई समर्थन गरेको उल्लेख गर्दै उनले सरकार बनेको १०० दिनभित्र प्रतिबद्धता पूरा गर्ने भनिए पनि छ महिना बितिसक्दा कार्यान्वयन नभएको गुनासो गरे ।
उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावभन्दा अगाडि हामीसँग वंशजको नागरिकता निरन्तरता दिन्छौँ भनेर करारनामा गरेको थियो। त्यही प्रतिबद्धताका आधारमा विश्वभरिका वंशजका नागरिकले पार्टीलाई समर्थन गरेका हुन्। तर सरकार बनेको १०० दिनभित्र पूरा गर्ने भनिएको प्रतिबद्धता छ महिना बितिसक्दा पनि पूरा भएको छैन।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग ३० देखि ३५ मिनेट कुराकानी भएको उल्लेख गर्दै उनले आगामी हिउँदे अधिवेशनमा वंशजको नागरिकता निरन्तरताको विषय अघि बढाउने आश्वासन पाएको बताए ।
डा. काफ्लेले विदेशमा रहेका नेपालीको मुख्य माग तीनवटा रहेको बताए । पहिलो, पुरानो वंशजको नागरिकतालाई पुनः निरन्तरता दिनुपर्ने, दोस्रो, विदेशमा रहेका नेपालीलाई नेपाल फर्कने र देशको विकासमा सहभागी हुने वातावरण बनाउनुपर्ने र तेस्रो, उनीहरूको लगानी नेपाल भित्र्याउन सहज नीति तथा व्यवस्था गर्नुपर्ने उनको माग छ ।
विदेशमा रहेका वंशजका नेपालीलाई अवसर र अधिकार दिए उनीहरूको लगानी, सीप, प्रविधि र अनुभवबाट नेपालको आर्थिक तथा सामाजिक विकासमा ठूलो योगदान पुग्ने उनको दाबी छ ।




















प्रतिक्रिया