Logo

विविध

भूमि प्रशासनको काम गर्न स्थानीय तहलाई परिपत्र



बझाङ । बझाङले जिल्लाका ८ वटा स्थानीय तहलाई भूमि प्रशासन सम्बन्धी सेवा अनिवार्य रूपमा स्थानीय तहमै सञ्चालन गर्ने व्यवस्था मिलाउन पत्राचार गरेको छ ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशन अनुसार भूमि प्रशासन सम्बन्धी सेवा प्रवाहलाई स्थानीय तहबाटै सञ्चालन गर्न कार्यालयले पत्राचार गरेको हो ।

जिल्लामा दुइ वटा भूमि प्रशासन कार्यालय भएकाले १२ स्थानीय तह मध्य ८ वटा पालिकामा मात्र पत्राचार गरीएको भूमि प्रशासन कार्यालय बझाङका कार्यालय प्रमुख कृष्ण बहादुर बोहराले बताए ।

कार्यालयले जिल्लाका साइपाल गाउपालिका ,तल्कोट,मष्टा, जयपृथ्बी नगरपालिका, सुर्मा, खप्तड, छबिसपाथीभेरा गाउपालिका र बुङगल नगरपालिकाको साबिक दहबगर गाबिस हाल १ र २ नमबर वडामा पत्र पठाएको कार्यालय प्रमुख कृष्ण बहादुर बोहराले बताए ।

मन्त्रालयको च.नं. ४३६, मिति २०८३÷०७÷१६ को पत्रअनुसार भूमि प्रशासन सम्बन्धी सेवा प्रवाह स्थानीय तहबाटै सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको पत्रमा उल्लेख छ ।

मन्त्रालयले एक महिनाभित्र उक्त सेवा सञ्चालन गरिसक्नुपर्ने भन्दै सूचना प्रकाशित गरेकाले आफ्नो कार्यक्षेत्रभित्र पर्ने सबै स्थानीय तहलाई तोकिएको समयभित्र आवश्यक व्यवस्था मिलाउन भूमि प्रशासन कार्यालयले आग्रह गरेको हो ।

त्यस्तै, सेवा सञ्चालनका क्रममा आवश्यक प्रशासनिक सहजीकरण तथा समन्वयका लागि भूमि प्रशासन कार्यालयका नायब सुब्बा यज्ञ रतालालाई सम्पर्क व्यक्तिका रूपमा तोकिएको छ । भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै सञ्चालनमा आए नागरिकलाई सेवा लिन सहज हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार ०९:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।